काठमाडौं । वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार निलम्बनमा पर्ने भएका छन् ।

वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागिएको हो । ‘सोमबारको लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ,’ लेखासमितिका एक सदस्यले भने, ‘वाइड बडी विमान प्रकरणमा देवकोटा र कंसाकारको प्रत्यक्ष संलग्नता देखिएकाले निलम्बनकाे सिफारिस गरिन लागिएको हो ।’

ती सदस्यका अनुसार, पर्यटन मन्त्री रवीन्द्र अधिकारीबारे पनि लेखा समितिले धारणा बनाएको छ । ‘विमान खरीद प्रकरणमा पर्यटनमन्त्री अधिकारीको पनि गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने छ ।’

राईलाई सफाइ
यस्तै, सोमबार हुने लेखासमितिको बैठकले प्रतिवेदनमा दोषी बनाइएका सचिव प्रेम राईलाई भने सफाइ दिने सम्भावना छ । ‘सचिव प्रेम राईका हकमा उपसमितिको प्रतिवेदन नै त्रुटिपूर्ण रहेको ठहर छ,’ एक सदस्यले भने, ‘राईलाई सफाइ दिइने सोच बनेको छ ।’

दुई पूर्वमन्त्रीमाथि छानबिन
यस्तै, लेखासमितिले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देव तथा सचिव शंकर अधिकारीको हकमा छानबिनपछि ठहरे बमोजिम हुने गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ । वाइड बडी विमान भ्रष्टाचार प्रकरणलाई मिहीनसँग छानबिन गर्न लेखासमितिले मुद्दा अख्तियारमा पठाउने भएको छ । यो घटनाले विमान खरीद प्रकरणमा दोषीलाई कारबाहीका लागि बाटो खुलेको छ । अख्तियारले मुद्दा अनुसन्धान गर्दा अरु प्रभावकारी हुने आशा गरिएको छ ।

कंसाकारको प्रशस्त बदमासी
वाइड विमान खरीद प्रकरणमा वायुसेवा निगमका महाप्रबन्धक कंसाकार मुख्यरुपमा दोषी देखिएका छन् । यतिसम्म बदमासी भएको छ कि, कंसाकारले विमान खरीदका लागि पठाएको रकम समेत विभिन्न खातामार्फत पठाइएको खुलेको छ । विमान बैनाको रकम एउटा खातामा र पछिल्लो भुक्तानी अर्को खातामा समेत पठाएर कंसाकारले बदमासी गरेको उपसमितिकै प्रतिवेदनमा लेखा समिति पनि सहमत देखिएको छ ।

भूषण राणाबारे प्रतिवेदन मौन
यस्तै, वाइडबडी विमान प्रकरण छानबिन गर्न गठित उपसमितिले भूषण राणाबारे मौनता साधेकामा भने लेखा समितिका सदस्य र अन्य सांसदहरुले पनि चासो राखेका छन् । विमान खरीद प्रकरणमा भूषण राणाको पनि संलग्नता छ । सतहमा देखिने गरी कंसाकारले बदमासी गरे पनि यो विमान खरीद प्रकरणमा राणाको पनि संलग्नता छ । राणा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका साला तथा डा. आरजु राणाका भाइ हुन् । नेपाल वायुसेवा निगममा कंसाकारलाई महाप्रबन्धक बनाउने योजनासमेत राणाकै भएको उनका निकटवर्तीहरु बताउँछन् । आफ्नो मान्छे सत्तामा भएका बेला शक्ति दुरुपयोग गरेर राणा कंसाकारलाई महाप्रबन्धक बनाउन र विमान खरीद गर्ने योजना साकार पार्न सफल भएका थिए । प्रतिवेदनमा राणाबारे मौनता उपसमितिको अध्ययन कमी या संलग्नता नदेखिएको भन्नेबारे खुलेको छैन । तर सांसदहरु र लेखा समिति सदस्यहरुले राणालाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने राय राखेका छन् ।

Source https://www.janatasamachar.com/2019/01/87638?fbclid=IwAR1IcynYI7GG5eOWkYObntq5rzaJRd6uB-4-wJ3McQeI_k6393GNKpELQqI