अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्पोरेट हाउसको संलग्नतामा प्रदेश स्तरीय फ्रेन्चाइज लिग फुटबल गर्ने भएको छ । ‘नेपाल  सुपर लिग’ नाम दिइएको फ्रेन्चाइज लिग २०७६ वैशाख र जेठ महिनामा सञ्चालन गरिनेछ । फ्रेन्चाइज लिग सञ्चालनका लागि एन्फा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे ।

फ्रेन्चाइज लिगका लागि प्रत्येक सात प्रदेशलाई विभिन्न कर्पोरेट हाउसले प्रतिनिधित्व गर्नेछन् । सम्झौताको आर्थिक पाटो भने पछि खुलाइने बताइएको छ । सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपाली फुटबल र विशेषगरी युवाको विकासका लागि फुटबलसँग गाँसिन पाउनु खुसीको कुरा भएको बताए ।

लिगमा सहभागी टोलीको नाम, टिम तयारी र प्रायोजक खोज्ने सम्पूर्ण काम नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ । फ्रेन्चाइज लिगका लागि पहिलो वर्ष एन्फाले हाल ‘ए’ डिभिजन लिग खेलिरहेका १४ क्लबहरूबाट उत्कृष्ट एक सय ४० खेलाडी सात टोलीलाई उपलब्ध गराउनेछ । लिगमा विदेशी खेलाडीलाई पनि समावेश गराउने प्रावधान राखिनेछ । लिगका लागि प्राविधिकसहित विश्व फुटबल महासंघ (फिफा) बाट मान्यता लिन प्रक्रिया एन्फाले पूरा गर्नेछ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबललाई विकेन्द्रीकरणमा लैजाने अवधारणा अनुसार फ्रेन्चाइज लिग सञ्चालन गर्न लागिएको बताए । ‘नयाँ वर्षको सुरुआतसँगै पहिलो पटक नयाँ कामको थालनी भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टसँग एन्फा जोडिनु फुटबल विकासको लागि कोसेढुंगा सावित हुनेछ,’ शेर्पाले भने । राउन्ड रोविन लिगका आधारमा हुने लिगमा २१ र प्ले अफमा चार गरी कुल २५ खेल हुनेछ ।

फ्रेन्चाइज लिग सँगै एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालय स्तरीय लिग फुटबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । देशभरका तीन सय विद्यालय छनोट गरी त्यसबाट उत्कृष्ट ११ टोलीबीच विद्यालयस्तरीय लिग फुटबल सञ्चालन गरिनेछ । युवा र विद्यार्थीलाई फुटबलमा लाग्न प्रेरित गर्न र भविष्यमा राष्ट्रिय टोली निर्माणलाई पनि यसले थप टेवा पुग्ने विश्वास एन्फाको छ । वैशाखबाट सुरु हुने लिग विद्यार्थीको पढाइलाई घाटा नलाग्ने गरी ६ महिनासम्म चल्नेछ ।

(अन्नपुर्ण  पोस्ट   )