कास्की प्रहरीले १८ वर्षमुनिका बालबालिका मादक पदार्थ सेवनमा संलग्न रहेको भन्दै २० जनालाई पक्राउ गरेको छ। शुक्रबार राति पोखराको लेकसाइडका विभिन्न रेष्टुरेण्ट, डिस्को,बार लगायतबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

 

१८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू विभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साँझ, डान्स बारहरूमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेवन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

 

उनले अनुगमनको क्रममा विभिन्न रेष्टुरेण्ट एवं डान्सबारबाट १८ वर्ष भन्दा कम उमेर समूहका करिब २० जना बालबालिकाहरूलार्इ नियन्त्रणमा लिइएको र त्यसमध्ये ५ जना बालिकाहरूसमेत रहेको पाइएको उनले बताए। उनीहरूलाई सम्झाइ बुझाई गरी अभिभावकको जिम्मा लगाएको उनले बताए।

(सेतोपाटी)