रबिनको पुनरागमन

[[IMG_ALT]]

b s g news | Sports | Falgun 29

राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए ।गत वर्ष मार्च २८ मा एएफसी एसियन कप २०१९ को छनोट चरणमा फिलिपिन्स विरुद्धको खेलमा रविनलाई घुडाँमा चोट लागेको थियो । चार दिन अघि उनी पुलिसको प्रशिक्षणमा फर्केका थिए । भरपर्दा लेफ्ट ब्याक रविनले ओभरल्यापमा गएर क्रस गर्न माहिर मानिन्छन् । उनले आफ्नो जादु पुनरागमनको पहिलो खेलमा पनि देखाए ।

ओभरल्यापमा बाँया विङ्बाट उनले नै दिएको क्रसमा तेज तामाङले एपिएफविरुद्ध गोल गरे । त्यहि गोल निर्णायक बन्यो र पुलिस तिलोत्तमाको सेमिफाइनलमा पुग्न सफल भयो । रविनको क्रसलाई एपिएफका खेलाडीले हाफ क्लियर गरेपछि तेजले पाएको बललाई बक्स नजिकबाट गोलमा परिणत गरे ।

‘धेरै पछि मैदानमा फर्किदा निकै नै खुशी छु, शब्दमा ब्यक्त गर्न गाह्रो छ ,’ रविनले भने, ‘मलाई धेरैको सहयोग मिलेको छ, सबै प्रति म आभार व्यक्त गर्न चाहान्छु ।’ रविनले पुलिस क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति आभार व्यक्त गर्न छुटाएनन् ।

‘यो कठिन समयमा मलाई परिवारको पनि साथ् मिल्यो ,’ उनले थपे, ‘ग्रान्डी अस्पतालका डाक्टर चक्र राज पाण्डे , राजेश मानन्धर र यम खत्री लगायत फिजियोथेरापी टोली विशेष धन्यबाद दिन चाहान्छु ।’ रविनले रिकभरीको क्रममा कलकत्तामा इस्ट बंगाल फुटबल क्लबका फिटनेस ट्रेनर ग्रासियाबाट पनि सहयोग मिलेको बताए ।

चोट मुक्त हुन प्रयासरत रहँदा राष्ट्रिय टोली तथा इन्डानेसियन क्लब पर्सिजा जकार्ताका मिडफिल्डर रोहित चन्दले पनि सहयोग गरेको रविनले स्मरण गरे । ‘रोहितले पनि मलाई धेरै सहयोग गरको छ ,’ उनले थपे, ‘ग्राउण्ड रिहाबमा मद्दत गरेकोमा रोहितलाई धन्यवाद दिन चाहान्छु ।’ चोटका कारण झन्डै एक वर्ष मैदान बाहिर बसेका रोहितले गत वर्ष माघमा पुनरागमन गरेका थिए ।