प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस,  चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ । 

पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ । 

पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ । कोरोना सङ्क्रमणको त्रास रहिरहेका बेला डेंगु र मौसमी–फ्लु फैलँदा मानिसमा थप स्वास्थ्य जटिलता थपिदैगएको छ । भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार प्राय सङ्क्रामक रोगमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकीजस्ता लक्षण देखा पर्छन् ।  

सङ्क्रमणजन्य रोगका लक्षण प्राय एक–अर्कोसँग मिल्दाजुल्दा हुने भएकाले बिरामी आफुलाई के भयो भन्ने विषयमा अन्योलमा परेको देख्न सकिन्छ । 

लक्षण देखिएपछि रोगको शंकागरी जाँच गर्दा सो रोगको रिपोट नेगेटिभ आउने तर सिटामोल खाँदा पनि ज्वरो कम नहुँदा बिरामीहरु आतिँदै अस्पताल पुग्नेगरेका छन् । सङ्क्रमणजन्य रोगका लक्षण उस्तै देखिए तापनि लक्षणको प्रकृतिमा केही भिन्न हुने डा. भट्टको तर्क छ । 

रोग कसरी पत्ता लगाउने 

कोरोना र सिजनल–फ्लु क्लिनिकली परीक्षण गरेपछि सजिलै पहिचान गर्न सकिने चिकित्सक बताउँछन् । 

डेंगु 

सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । 

डा. कोइरालका अनुसार उच्च ज्वरो आउनु, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन् । 

त्यसका अलावा खानामा अरुचि हुने, हाडजोर्नी तथा मांसपेशी र ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिने गर्छन् । हेलचेक्राइ गरेमा ३ देखि ७ दिनपछि बिरामीमा कडा खालका लक्षण लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वास प्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव भई बेहोस हुनेजस्ता समस्या देखिने गर्छन् । 

एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि बढी सक्रिय हुने हुनाले सचेत रहन चिकित्सकको सुझाव छ ।

चिकित्सकका अनुसार डेंगुको उपचार यसको लक्षणका आधारमा गरिन्छ । एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि बढी सक्रिय हुने हुनाले सचेत रहन चिकित्सकको सुझाव छ ।

चिकनगुनियामा पनि एक्कासी ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने मांशपेशी दुख्नेजस्ता स्वास्थ्य समस्या देखिने गर्छ । स्क्रब टाइफसमा उच्च ज्वरो आउने, शरीरमा घाउ आउने, सास फेर्न असहज महसुस हुनेजस्ता लक्षण देखिने गर्छ । 

कोरोना 

चिकित्सकका अनुसार कोभिड –१९ ले मानिसपिच्छे भिन्न भिन्न लक्षण देखिने गर्छ । सङ्क्रमित मानिसमा हल्कादेखि मध्यमस्तरका लक्षण देखिने गर्छ । दुई हप्ताभित्र ज्वरो आउनु, सुख्खा खोकी लाग्नु,  घाँटी टाउको दुख्नु, थकाइ लाग्नु, स्वाद वा गन्ध थाहा नहुनु, पखाला लाग्नु,  श्वासप्रश्वासमा समस्या देखिएर भेन्टिलेटरमा राख्नुपर्ने स्थिति आउन सक्छ । 

पछिल्लो सयम नेपालमा फैलिएको ओमिक्रोन भेरियन्टका लक्षणहरु मौसमी फ्लुसँग मिल्दा जुल्दा छन् । कोरोना भएका मानिसले जनस्वास्थ्यका मापदण्ड अपनाएर घरमा नै आराम गर्नुपर्ने चिकित्सकको सुझाव छ । हेलचेक्राइ गर्दा निमोनिया भई मृत्युसमेत हुने गर्छ । कोरोना विरुद्धको खोप लगाउन सकिन्छ । खोप लगाएकोमा सङ्क्रमण पुष्टि भए पनि जटिलता कम हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मौषमी फ्लु 

मौसम परिवर्तन भएसँगै मौसमी फ्लुका बिरामी पनि बढ्ने गर्छन् । डा. भट्टले मौसमी फ्लु हुँदा अन्य भाइरसको समस्या जस्तै– ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने, नाकबाट सिङ्गान बग्ने, आँखाबाट आँशु बग्नेजस्ता स्वास्थ्य समस्या देखिने बताउनुभयो । फ्लुका बिरामीमा चार दिनभित्र लक्षण देखिसक्छन् । यस्तो अवस्थामा सिटामोल खाने, तातो पानी र खानेकुरा खाएर घरमा नै आराम गरेपछि निको हुँदै जान्छ ।  

आफुखुसी औषधी खाँदा स्वास्थ्यमा थप जटिलता थपिने हुँदा आफुखुसी औषधी नखान चिकित्सकको सुझाव छ ।

यस्तै, सबै उमेरलाई प्रभाव पारे पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी प्रभावित हुने हुँदा यस्ता मानिसको विशेष ध्यान दिनुपर्ने डा. भट्टको सुझाव छ । फ्लुबाट बच्न फ्लुविरुद्धको खोप लगाउन सकिन्छ । 

चिकित्सकका अनुसार लक्षण देखिएमा प्रशस्त झोलिलो खानेकुरा खाने, तातो पानी खाने र घरमा नै आराम गर्दा आफै निको हुँदै जान्छ । बिरामीलाई धेरै गाह्रो भएमा अस्पताल जानुपर्ने चिकित्सकको सुझाव छ । आफुखुसी औषधि खाँदा स्वास्थ्यमा थप जटिलता थपिने हुँदा आफुखुसी औषधि नखान चिकित्सकको सुझाव छ । स्वास्थ्यमा समस्या बढ्दैगएमा अस्पताल गएर चिकित्सकको सल्लाहमा औषधी लिन चिकित्सकले सुझाव दिनुभयो । साभार गोरखापत्र