स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा विदेशिएपनि नेपालको विकास निर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी कामदारले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको देखिएको छ । मुलुकभर निर्माणाधीन सडक, पुल, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर निर्माण तथा पुनर्निर्माणमा काम गर्ने गरी विदेशी युवा शक्ति नेपाल आउने गरेको सरोकारवाला बताउँछन्।  निर्माण व्यवसायीहरू स्वदेशमा श्रमिक अभाव भएर भारतबाट ल्याउनुपर्ने बाध्यता पेचिलो बन्दै गएको निर्माण व्यवसायीको अनुभव छ ।
 
नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार नेपालमा निर्माणको मौसममा १६ लाख श्रमिक र नियमित रूपमा पाँच लाख श्रमिकले  रोजगारी प्राप्त गरेका छन् । जसमा ३५ प्रतिशत भारतीय मात्रै छन् ।  महासङ्घका महासचिव रोशन दाहालले निर्माण क्षेत्रका लागि आवश्यक पर्ने अधिकांश दक्ष इन्जिनियर तथा मिस्त्री भारतबाट मगाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो।
साढे दुई दशकदेखि काठमाडौँमा आवासीय भवन निर्माणको ठेकेदारका रूपमा काम गर्दै आउनुभएका दिलबहादुर गुरुङको अनुभवमा पर्याप्त स्वदेशी दक्ष जनशक्ति नहुँदा भारतकै भर पर्नुपर्ने बाध्यता छ। उहाँको समूहमा अधिकांश मिस्त्री भारतीय छन्।
 
नेपालमा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति हुँदै नभएको पनि होइन तर त्यस्ता जनशक्ति देशभित्र काम गर्नभन्दा विदेश जाने गरेकाले भारतीय मिस्त्री राख्नुपरेको उहाँले सुनाउनुभयो । नेपालमै निर्माण क्षेत्रमा काम गर्ने भारतीय मिस्त्रीले दैनिक न्यूनतम आठ घण्टा काम गरेर मासिक न्यूनतम ५० हजारदेखि दुई लाख रुपियाँसम्म कमाउने गरेका उहाँको भनाइ छ । आन्तरिक श्रम बजारमा स्वदेशकै श्रमिकको पहिचान तथा व्यवस्थापन गर्ने जिम्मा पाएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले भने उद्देश्यअनुसारको कामै गर्न सकेको छैन। गोरखापत्र।