नेपाल सरकारको अर्थ मन्त्रालयले समेत खर्च कटौतीको प्रयास गर्न अनुरोध गरिरहेको समयमा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल माउन्टेन रिसोर्टमा शुक्रवारको दिन पारेर बुढानिलकण्ठ नगरपालिका अधिकृत स्तरका कर्मचारीहरुले भने भव्य र रमाइलो पुनर्ताजगी कार्यक्रम गरेर लाखौ उडाएको आरोप अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ। 

उत्प्रेरणात्मक पुनर्ताजगी तालिम नाम दिइएको सो कार्यक्रममा नगरपालिकामा अधिकृत स्तरमा रहेका करिव ५ दर्जन कर्मचारी सहभागी रहेका थिए भने नगरपालिकाका केहि जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा तत्कालिन प्रशासकीय अधिकृत एवं अख्तियार अनुसन्धान आयोगका पुर्व आयुक्त नारायण रिसाल र इस्कन मन्दिर नेपालका अध्यक्ष रुपेश जोशी (रुपेस्वर गौर दास) ले Motivational Speech दिनु भएको थियो। 

 यस किसिमका कार्यक्रमहरुको खर्च नगरपालिकाको आन्तरिक श्रोत अन्तर्गत पर्ने गर्दछ। आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजनामा समावेश गरिएको शिर्षक सुशान, सेवा प्रवाह प्रशासन र संस्थागत क्षमता बिकाश अन्तर्गत कमर्चारी क्षमता बिकाश तथा प्रोत्साहन योजनामा २५ लाखको बजेट बिनियोजन भएको देखिन्छ। जसमा प्रथम ,दोश्रो र तेश्रो गरेर ५-५ लाखको बजेट निर्धारण गरेको छ भने चौथोमा १० लाखको बजेट विनियोजित गरेको देखिन्छ। गत शुक्रवार आयोजना गरिएको उक्त कार्यक्रम प्रथम ,दोश्रो र तेश्रो मध्य एक हो भने करीव ५ लाख बजेटको उक्त कार्यक्रम भएको अनुमान नगरवासीले सजिलै लगाउन सक्छन । 

आन्तरिक श्रोत अन्तर्गत पर्ने मालपोत रजिस्ट्रेसन कर अनुमान भन्दा निकै कम उठेपछि खर्च कटौती गर्नुपर्ने दवावमा रहेको बुढानिलकण्ठ नगरपालिका खर्च कटौती भन्दा पनि विनियोजित बजेटको रकम सकाउने तर्फ उन्मुख भएको स्थानियको आरोप रहेको छ। हामीले तिरेकोको करको सदुपयोग वा दुरुपयोग भयो यसको  जानकारी नगरपालिकाले नगरवासीलाई जानकारी गराउनु पर्ने नगरवासीको भनाई रहेको छ। अधिकृतहरुको “रिफ्रेसमेन्ट” कार्यक्रम जस्ता अन्य फजुल खर्ची कार्यक्रमहरु काट्नका लागि पनि बुढानिलकण्ठ नगरपालिकालाई दवाव बढेको छ।

बुढानिलकण्ठ नगरपालिकाको ११ औ नगर सभामा प्रस्तुत गरिएको संसोधित बजेट प्रस्ताव तथा अर्ध वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिए अनुसार नगरपालिकाले अनुमान गरेको ५१ करोड २३  लाख ५५ हजार भन्दा निकै कम १५ करोड १९ लाख ९ सय ६३ मात्र मालपोत कर संकलन गरेको छ।

नगरपालिकाको राजस्व संकलनको मुख्य श्रोत मालपोत कर घटेको भन्दै सो नगर सभामा अनुसूची -३ बमोजित बजेट घटाई संसोधन गर्न प्रस्ताव समेत गरिएको छ।सो प्रस्तावको अनुसूची -३ मा उल्लेख गरिए अनुसार पुजीगत तर्फ १० र चालु तर्फ ३ योजनाको बजेट घटाईएको छ।