गठबन्धन दलले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै त्रिपाल वितरण गरेको छ । मौन अवधी सुरु हुनु केही समय अघि गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको तर्फबाट पलाँता गाँउपालिकामा सो त्रिपाल वितरण गरिएको हो ।

गत असोजको वर्षाले क्षति पुगाएको एक महिना १० दिन पछि घर भत्केकाहरुलाई राहत भन्दै त्रिपाल बितरण गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । कालीकोट रास्कोटका लिलाराज सन्ज्यालले उम्मेदवार शाहीको नासो भन्दै माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा बिजयी बिष्णुवहादुर रोकाया (इन्द्र) र वडा नं ९ का माओवादीका वडा कमिटि सदस्य मानवहादुर सुनारले त्रिपाल बितरण गरेको बताउनुभयो ।

यस बिषयमा बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष बिष्णुवहादुर रोकायाले स्वीकार गर्नुभएन । वडा अध्यक्ष कसैले वाढीपीडितका लागि आइपुगेका त्रिपाल बितरण गरेको हुनसक्ने उहाँले बताउनुभयो ।

कालीकोटमा प्रतिनिधि सभा सदस्यका लागि माओवादीका शाही र प्रदेश सभा (१) मा दुर्गवहादुर रावत र (२) मा नेपाली कांग्रेसका हिक्मत बिष्ट उम्मेदवार रहनु भएको छ । मौन अवधि शुरु हुँदैगर्दा पीडितलाई त्रिपाल वितरण गरिनु आचारसंहिता उल्लंघन भएको स्थानीयको बुझाई छ ।

यस बिषयमा कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफुलाई सो बारेमा जानकारी नभएको बताउनुभयो । निर्वाचनका बेला कुनै पनि मतदातालाई प्रभावमा पार्न यस्ता नगद जिन्सी समान दिनुलाई आचारसंहिता बिपरित मानिन्छ ।