करिब १ वर्ष अगाडी मैले संयुक्त राज्य अमेरीकाको भ्रमण गर्ने क्रममा सान डियागो काउन्टिमा काम गरेको थिएँ। त्यहाँको स्थानीय तहले कसरी काम गर्छ भन्ने सिक्ने मौका पाएको थिए। विशेष गरी शिक्षा प्रशासन सँग नजिक रहेर काम गरेँ, त्यहाँको शहरी विकासको मोडल हेरेँ, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा राज्यले कसरी गम्भिरता पुर्वक काम गर्छ भनेर हेरेँ। त्यहाँ रहँदा स्थानीय सरकारमा डेमोक्रयाट, रिपब्लिकन वा अन्य कुनै दलले शासन गरेको छ भन्दा पनि अमेरीकी स्थानीय सरकार कस्तो रहेछ भनेर हेरीँदो रहेछ। १ हप्ता जति अगाडी प्रदेश नं ५ को तुलसिपुर उप-महानगरपालिकाको भ्रमण गर्ने अवसर प्राप्त गरेको थिए। त्यस क्रममा मैले त्यहाँ काङ्ग्रेस वा कम्युनिष्ट कसले नेतृत्व गरेको छ भन्ने भन्दा पनि तुलसिपुर कस्तो छ र के गर्दैछ भन्नेमा विषयमा केन्द्रित रहेर छलफल र भेटघाट गरेँ। सकेसम्म त्यँहाको समग्र अवस्था बुझ्ने प्रयास रह्यो। 

 

यसै क्रममा मनमा एउटा प्रश्न आयो। बूढानीलकण्ठ नगरपालिका चाँही एउटा स्थानीय सरकारको रुपमा कस्तो देखिन्छ? यो घोषणा भए देखी कसरी अगाडी बढिरहेको छ? यसको उत्तर मैले नगरपालिकामा बिताएको साढे २ वर्षे अनुभवमा आधारीत रहेर खोज्ने प्रयास गरेको छु। प्रश्न त उहि थियो, कहाँ आईपुग्यो बूढानीलकण्ठ? 

 


संस्थागत विकास र सुशासन

३४ वर्ग कि.मी क्षेत्रफल भएको नगरपालिका करिब ४२ % जंगल ले ढाकेको छ। बाँकी ५८ % जमिनमा उच्च जन-घनत्व छ। यहि ४८% मा स्थानीय सरकारले काम गरीरहेको छ। बाँकी जंगल भएकोले प्रदेश र संघ सरकारको कार्यक्षेत्र भित्र पर्ने गर्दछ। नगरपालिका घोषणा हुनु अघि यहाँ ६ वटा गा.वि.सहरुको आफ्नै कार्यालय थिए। २०७१ मंसिर १६ गते बूढानीलकण्ठ नगरपालिकाको रुपमा एउटै प्रशासनिक ईकाई अन्तर्गत १७ वडामा विभाजित भए। बिचमा १९ वडा पनि भयो तर कार्यालय भने ६ वटा मात्र थियो। अहिले छुट्टा-छुट्टै १३ वटा वडा कार्यालय मार्फत सेवा प्रदान गरीरहेको छ। 

 

भाडाको घरबाट सुरु गरेको नगरपालिका आफ्नै मुख्य प्रशासनिक भवन तयार भएर सञ्चालनमा आईसकेको छ। हिजो स्थानीय भौतिक विकासका विषयमा मात्र केन्द्रित हुने नगरपालिका आज शिक्षा, स्वास्थ्य, महिला बालबालिका, कृषि, पशु सँग सम्बन्धित विषयहरुमा केन्द्रित भएको छ। नागरीकहरुको सहायताको लागी हेल्पडेस्कको स्थापना भएको छ। प्राविधिक टिमको आकार र विशेषज्ञता अहिले निरन्तर बढिरहेको छ। प्रत्येक वडामा डेडिकेटेड ईन्जिनियर राख्ने काम भएको छ। यसले पनि विस्तारै नगरपालिकाको प्राविधिक जनशक्तिको कार्य सम्पादन सुधार गर्दै लगेको छ। यसको व्यवस्थापन र कार्यदक्षता वृद्दि अबको काम रहेको छ। 

 

वेभसाईट र सामाजिक सञ्जालको माध्यम बाट सुचना प्रवाहको काम अझ बढि व्यवस्थित भएको छ। वेभसाईटलाई अध्यावधिक गर्ने काम प्रशासनले निरन्तर गरिरहेको छ। अधिकांश वडा कार्यालयहरुले डिजिटल बोर्ड र सामाजिक सञ्जाल मार्फत आफ्ना सुचना र जानकारीहरु नागरीक समक्ष पुर्याउने गरेका छन्। सडक निर्माणले पनि प्राथमिकता पाएको छ। ठुला सडकहरुको निर्माणको क्रममा सिर्जित स्थानीय समस्या हल गर्ने, ठेकेदार र सम्बन्धित विभागलाई गरीएको निरन्तर खबरदारीले योजनाहरुले गति लिईरहको छ। केही योजना सम्पन्न पनि भईसकेका छन्।

 

संविधानले दिएका अधिकारहरु प्रयोग गर्ने क्रममा यसले आफ्ना प्रशासनिक क्षमतालाई पनि बढाउँदै लगेको छ। संघ र प्रदेश सरकारले निर्माण गर्नु पर्ने ऐन तथा कानुनहरुले नगरपालिकाको स्वभाविक र सार्वभौम फैलावटलाई रोकेको छ। बूढानीलकण्ठले आफ्नै २१ वटा कानुनहरु निर्माण गरेर लागु गरीसकेको छ। अन्य ७ कानुनहरु ड्राफ्ट भएका छन्। न्यायिक समिति र मेलमिलाप केन्द्रहरु सबै क्रियाशिल अवश्थामा छन्। 

 

नगरपालिकाको प्रोफाइल, पर्यटन गुरुयोजना बनिसकेको छ भने एकिकृत शहरी विकास योजना पनि अन्तिम चरणमा रहेको छ। त्यस्तै दिर्घकालिन विकासको रणनीति तय गर्ने आवधिक योजना (Periodic Plan) पनि बन्न सुरु भईसकेको छ। वडा नं १३ को खाली वस्ति योग्य भुभागमा व्यवस्थित शहर निर्माणको लागी वस्तुगत स्थिति मुल्याकंनको काम सकिएको छ। अहिले जनस्तरमा राय लिने काम भईरहेको छ। 

 

कार्यक्रमिक र नीतिगत परिवर्तन (Policy Shift) पनि सुरु भएको छ। नगर स्थापनाकाल देखिको बजेट हेर्ने हो भने यो पटकको बजेटमा जसरी ठुला योजना र रकमको विनियोजन भएको छ यसले हाम्रो लिडरसिपको विकास क्रमलाई पनि झल्काएको छ। वितरणमुखि बजेटको कटौति र दिगो प्रकारका कार्यक्रमहरुलाई प्रोत्साहन गरीएको छ। यो वर्ष तालिमका नाममा बजेट छरिएको छैन। नगरपालिका स्तरमा नै तालिम समन्वय समितिको गठन पश्चात तालिमहरुलाई एकद्वार प्रणालि बाट सञ्चालन गरीएको छ। यसले एउटा स्वरुप ग्रहण गर्दैछ। महिला उद्यमिहरुको लागी करिब ५ रोपनि क्षेत्रफलमा महिला उद्ममशिलता तालिम तथा रोजगार केन्द्र परियोजना निर्माण हुँदैछ। यसले परिणाम विहिन तालिमको श्रृखंलालाई परिणाम मुखि बनाउने अपेक्षा गरीएको छ। 

 

यस्तै, नगरपालिका बनिसकेपछि महिला हरुले तालिम मात्र नभएर व्यवसायिक रुपमा नै समुह निर्माण गरेर सामुहिक उद्यम पनि गरिरहेका छन्। चपलि महिला मञ्चले सञ्चालन गरेको नमुना बेकरी क्याफे, हरित नगर अभियान, वडा नं १ मा सञ्चालित पुष्प व्यवसाय, वडा नं ४ मा सञ्चालित डेरी यसका उदाहरणहरु हुन्।  

 

अनुगमन संयन्त्र

नगरपालिकामा कुनै पनि योजना भएको वा नभएको त्यसको अनुगमन गर्नको लागी अनुगमन संयन्त्रको निर्माण गरीएको छ। कागज र बिल बिजक मात्र मिलाउने तर काम नगर्ने, २ वटा सरकारी स्रोत बाट बजेट ल्याउने एउटाको पैसाले आयोजना सम्पन्न गर्ने र अर्को स्रोतको पैसा खाने प्रवृतिको अन्त्यको लागी प्राविधिक टोली, योजना शाखा र जनप्रतिनिधी सम्मिलित अनुगमन समिति बनेको छ। जसले योजना भए नभएको र गुणस्तर हेर्ने काम गर्दछ। गुणस्तर जाँच्नको लागी यसको प्राविधिक र उपकरणमा क्षमता वृद्दि गर्नुपर्ने अबको काम रहेको छ। 

 

मध्यम र ठुला योजना टेण्डर मार्फत

सहभागिता मुलक योजना निर्माणको नाममा भईरहेको विकृतिलाई रोक्नको लागी यस पटक बाट २० लाख भन्दा ठुला आयोजनाहरु सिधै टेण्डर मार्फत गर्ने र त्यसको निरन्तर अनुगमन वडा समितिले गर्ने गरेर कामको रफ्तारलाई बढाउन पनि थालिएको छ। यस वर्ष अहिले सम्म १४ वटा योजनाको टेण्डर आह्वान गरीसकिएको छ। यसले उपभोक्ताले हाल्नु पर्ने पैसा जोगिएको छ र काम समयमानै सम्पन्न हुने बाटो खोलिदिएको छ। यस नीतिको पनि पुर्ण कार्यान्वयन हुने दिशामा गएको छ। कुनै विशेष योजना हरु बाहेक ठुला योजनाहरु क्षमता र अनुभव भएका कम्पनिहरुबाट गराईने भएको छ। 

 

सरकारी विद्यालय सुधारको पहल

नगरपालिका भित्रका सामुदायित विद्यालयहरुलाई सुधार गर्न प्राविधिक विषयका पठनपाठन सुरु गर्ने, शैक्षिक पुर्वाधारहरुको लगानीमा वृद्धि भएको छ। शिक्षाको लागि संघबाट प्राप्त हुने ससर्त अनुदान बाहेक पनि स्थानीय आय पनि लगानी गरीएको छ। पुर्व प्राथमिक शिक्षणको लागी पुर्वाधार निर्माण र बालमैत्रि कक्षाकोठाको निर्माण भएको छ। स्थानीय विद्यालय शिक्षा नियमावली मार्फत विद्यालय व्यवस्थापन समितिलाई अझै बढी जिम्मेवार बनाउने व्यवस्था गरीएको छ। विद्यालय सुधार योजना बनाएर बूझाउने सदस्यले व्यवस्थापन समितिमा स्थान पाउने व्यवस्था भएको छ। स्थानीय अभिभावको पहिलो रोजाई बनाउने उदेश्य अनुरुप हामी ३ वटा विद्यालयमा काम गरीरहेका छौँ। कोल्याबरेटिभ स्कुल्स नेटवर्क (CSN) सँगको साझेदारी निकै प्रतिफल दिने स्वरुपको रहेको छ। हामीले साझेदारी गरीरहेका विद्यालयहरुमा व्यवस्थापकिय सँगै पठनपाठनमा पनि सुधार भईरहेको छ।  यस साझेदारीलाई विस्तार गर्ने र अन्य प्रकारका सुधारका कामलाई पनि अगाडी लगिएको छ 


 

स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न, पाठ्य पुस्तक अन्तिम चरणमा

बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गरीसकेको छ। कक्षा १ देखी ८ सम्म आफ्नो पाठ्यक्रम लागु गर्ने उदेश्यले अहिले पाठ्यपुस्तकहरुको लेखन चलिरहेको छ। शिक्षा शाखाले यसको सम्पुर्ण संयोजन गरीरहेको छ। आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु हुनेछ। 

 

युवा सहभागितामा वृद्धि

हिजो सिमित दलिय कित्तामा उभिने युवाहरुको हाली मुहाली हुने अवस्था बाट आम युवाको पहुँचमा स्थानीय तह पुगेको छ। आज म गर्छु भन्नेले स्थान पाउने अवस्था भएको छ। हिजो जुन सिमित घेरा थियो अहिले फैलिएको छ। यूवानीलकण्ठले जसरी एउटा एकेडेमीक पृष्ठभुमिका युवाहरुलाई समेटेको छ। स्पार्क सर्कल र बूढानीलकण्ठ युवा समाजले संयुक्त रुपमा नमुना संयुक्त राष्ट्र संघिय सभा (Model United Nation) अगाडी बढाईरहेका छन्। वडा नं १० मा युवा सञ्जालले जसरी काम गरीरहेको छ। यसले एउटा युवा सहभागिता र परिचालनमा नयाँ प्रस्थान विन्दुको निर्माण गरेको छ। सँग-सँगै विभिन्न युवा क्लबहरुले संयुक्त रुपमा र एकल रुपमा सामाजिक, सांस्कृतिक र खेलकुदका क्षेत्रमा कामहरु अगाडी बढाईरहेका छन्। यसलाई नगरपालिकाले नैतिक र आर्थिक रुपमा सहयोग गरीरहेको छ। यसले युवाको सहभागितालाई निरन्तर बढाईरहेको छ। 

 

खेलकुद गतिविधीमा वृद्धि, पुर्वाधारमा लगानी

बास्केटबलले बूढानीलकण्ठलाई चिनाउने अवस्था भएको छ। हामीले राष्ट्रिय रुपमा नै बास्केटबललाई नगरपालिकाले व्यवस्थित गरेको पहिलो यथार्थ बन्न पाएका छौँ। २ वर्षको विचमा ३ वटा प्रतियोगितामा प्रथम, र चारवटा प्रतियोगितामा दित्तिय स्थान हाँसिल गरेको छ। मार्सर आर्टस, फुटबल लगायत अन्य धेरै खेलकुद गतिविधीलाई नगरपालिकाले प्राथमिकतामा राखेर सम्बोधन गर्ने गरेको छ। 

त्यस्तै कपन ह्यण्ड बल ग्राउण्डको लागी वरीपरी स्तरोन्नतीको काम भईरहे पनि अब यो वर्षबाट त्यसको मास्टर प्लान र डिपिआर अनुसार काम हुँदैछ। वडा नं ४ को धनेश्वर खेल मैदानको लागी पनि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरी काम भईरहेको छ। यसको जग्गा विवादका विषयहरु अहिले सबै फाईल उठाएर खेलकुद परिषद मार्फत मन्त्रालय लगिएको छ। अब क्याबिनेट निर्णय पश्चात त्यसको पनि मुख्य गाँठो फुक्नेछ। 



 

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना

रोग लागेपछि मात्र होईन रोग लाग्नु भन्दा अगाडी पनि जचाँउनु पर्छ र जनतालाई स्वास्थ्य सम्बन्धि प्रवर्द्धनात्मल र निरोधात्मक दुवै तरीका बाट जनचेतना दिनु पर्छ भन्ने उदेश्यले २ वर्ष देखी २ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा रहेको छ। यसको क्षमता विकास, प्रचार प्रसारको काम अझै स्पष्ट ढंगले अगाडी बढाउन योजना बनिरहेको छ। 

 

खुल्ला स्थानहरुको संरक्षण र निर्माण

नगरपालिकाले आफ्नो नीतिमा खुल्ला स्थानहरुको संरक्षण गर्ने र सार्वजनिक पार्कहरुको निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। अहिले ७ वटा पार्क हरुको निर्माण चलिरहेको छ। त्यस्तै भएका पार्कहरुको स्तरोन्नति र मर्मतको क्रम चलिरहेको छ। यसले नागरीकहरुको लागी एउटा सुविधा प्रदान गर्नेछ। व्यवसायिक रुपमा सञ्चालन हुने उदेश्य रहेको रुद्रेश्वर मन्दिर नजिकै ईको पार्क निर्माण गर्ने डिजाईन पनि तयार भईसकेको छ। अन्य ४ वटा पार्कहरुको डिजाईन सकिएर विस्तृत परियोजना प्रतिवेदन निर्माणको चरणमा छन्।

 

खानेपानी आयोजनाहरु प्राथमिकतामा

नगरपालिका भित्र थुप्रै खानेपानि आयोजनाहरुको निर्माण र स्तरोन्नति चलिरहेको छ। धोविढुगां खानेपानी आयोजनाले धारा जडान कार्य सक्नै लागेको छ। यसले केही महिना अघिदेखी आफ्नो सेवा सुरु गरीसकेको छ। चुनिखेलमा पनि खानेपानी आयोजनाले गति लिईरहेको छ। वडा नं ४ मा खानेपानी परियोजनाको स्तरोन्नतिको प्रक्रिया सुरु भईसकेको छ। त्यस्तै, बोरीङ मार्फत नै भएपनि नगरपालिकाले जनतालाई पानि खुवाउने भन्दै साना ठुला थुप्रै आयोजना सञ्चालन गरीरहेको छ। कपन बंगलामुखिमा बनिरहेको खानेपानी योजना, जोरधारा खानेपानी आयोजनाको स्तरोन्नती गर्नको लागी नगरपालिकाको ४० लाख बजेट बिनियोजन गरेकोमा उक्त काम सम्पन्न भईसकेको छ । ९, १०, ११ , १२ नं वडामा अधिकांश भागमा र १३ नं वडाको केही भागमा मेलम्ची खानेपानी आयोजनाबाट लाईन विस्तारको लागी ठेक्का प्रक्रिया समेत अगाडी बढिसकेको छ।

 

नगरवासीको रुपमा अभ्यस्त हुँदै नागरीक

नगरपालिका बनिसकेपछि सबैभन्दा चुनौतिको काम भनेको हिजो ग्रामिण शासकिय संरचनामा अभ्यस्त बनेका नागरीकहरुलाई कसरी नगरको नागरीक बनाउने भन्ने सवाल थियो। हामी गाउँ बाट नगर बनेपछि एकैपटक नगरपालिकाको मापदण्डहरुको कार्यान्वयन र स्तरीकरण (Standardization) होस भन्ने चाहना राख्छौँ। त्यो सही अपेक्षा पनि हो। तर हामीले गाँउ विकास समितिमा अभ्यस्त बनेका नागरीकहरु कहिले सम्म नगरपालिकाको प्रशासन र शैली सँग अभ्यस्त हुन सक्छन भन्ने विषय विर्सने गर्दछौँ। नगरपालिका बनेपछि निर्माण स्विकृति लिएर घर बनाए पनि नक्सा अनुसार हुबहु निर्माण गर्ने परिपाटी बस्न सकेको छैन। धेरै घरको अभिलेखिकरण भएको छ। हिजो ति घरहरु कानुनको दायरा र करको दायरा भन्दा बाहिर थिए। यसले नगरको राजश्वमा पनि वृद्धि गरेको छ र एउटा थिति बसाल्न पनि मद्दत गरेको छ। 

 

सफल वा असफल कसरी छुट्याउने

कुनै संस्थाले राम्रो वा नराम्रो गर्यो भनेर थाहा पाउने कसरी? निर्णय गर्ने कसरी? स्थानीय सरकार सञ्चालन ऐन अनुसारको नगरपालिकाको परिभाषामा पुग्न हामीले ठूलो मेहेनत गर्नुपर्ने छ। त्यो स्तरमा नगरपालिका पुग्नको लागी पहिले त स्थानीय राजनितिक दलहरुले त्यसको परिभाषा अध्ययन गर्न र बुझ्न जरुरी छ। राजनैतिक नेता कार्यकर्ता र आफ्नो संगठन मार्फत जनस्तर सम्म नगरपालिकाको स्तर र आफ्नो मार्गचित्र बुझाउन जरुरी छ। जसले हामीलाई उत्कृष्ट र नमुना नगरपालिका बनाउने तर्फ अग्रसर गरोस्।

 

नेपालका अन्य स्थानीय तह हरुसँग तुलना गर्ने हो भने बूढानीलकण्ठ केही अगाडी बढेको देखिन्छ। तर जनताको अपेक्षा सँग तुलना गर्ने हो भने गर्नु पर्ने जति नगरेको निष्कर्ष निकाल्न सकिन्छ। जनता मात्र होईन जनप्रतिनिधीकै अपेक्षा पनि पुरा हुन सकेको छैन। अपेक्षा पुरा नहुनुको पछाडी अपेक्षा पुरा गर्ने संयन्त्रको विकास नभएर पनि हो। यसको लागी नगरपालिकाको संस्थागत क्षमता विकासमा ध्यान पुर्याउनु जरूरी छ।

अहिलेको अवस्था भनेको भार बहन क्षमता कम भएको मानिसलाई एकैपटक धेरै भारी बोकाएको जस्तो हो। अझ यसलाई प्रविधीको भाषामा भनौँ। कम क्षमता भएको कम्प्युटरको RAM (र्याम) ले उच्च प्रविधीको काम गर्न सक्दैन। अहिलेको एच डी (HD Quality)  क्वालिटिको काम उसले गर्न सक्दैन। बूढानीलकण्ठ नगरपालिकाले उपलब्ध स्रोत साधन र क्षमता अनुसारको काम गर्दैछ। त्यसकारण अलमलिएर समय गएको जस्तो देखिए पनि यो सम्हालिन समय लागेको भनेर बुझ्न जरूरी छ। बूढानीलकण्ठ नगरपालिका अब बल्ल सम्हालिने अवस्थामा आईपुगेको छ। 

- सुमित खरेल 

thesumit88@gmail.com