विदेश पठाई दिन्छु भन्दै २१ लाख ४६ हजार रुपियाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर टेकुमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की रहेका छन् ।  

उनी पोखरा महानगरपालिका –१६ बिरौटा बस्ने २२ वर्षिया महिलालाई क्यानडा पठाइ दिन्छु भन्दै  एघार लाख एकहत्तर हजार र काठमाडौं–३२ पेप्सीकोला बस्ने २८ वर्षिया अर्की महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने भन्दै नौ लाख पचहत्तर हजार रुपियाँ जम्मा गर्न लगाई विदेश नपठाएर ठगी गरी फरार रहेको प्रहरीको भनाई छ । 

उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद अनुमति लिई प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।