देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार पुसयता देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जनाको मृत्यु भएको छ ।
प्रदेश अनुसार सबै भन्दा बढी कोशी प्रदेशमा ५६८, गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिम १०३, मधेशमा ७२, कर्णली प्रदेशमा ४२ जनामा डेङ्गु पुष्टि भएको छ ।
वर्षको समयमा वर्षापछि डेङ्गु सङ्क्रमण थप बढ्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले घर, आँगन तथा वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्ने, पूरा बाहुला भएका लुगा लगाउने, झुलको प्रयोग गर्ने र ज्वरो आएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन अनुरोध गरेको छ ।
महाशाखाले वर्षयामसँगै डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै हुँदा यसलाई नियन्त्रण गर्न साउन देखि तीन महिने डेङ्गु सचेतना अभियान सञ्चालन गरेको दाहालले जानकारी दिनुभयो ।
महाशाखाले डेङ्गु नियन्त्रणमा सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तीन महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

प्रतिकृयाहरु