नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका विभिन्न भूभागमा हावाहुरीसहित भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस र प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना तथा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानका साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । सोमबार पनि देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

प्रतिकृयाहरु