सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनको कान्छी आमालाई पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिका–२ कनकपट्टी टोल घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएका मो. इरफानका २५ वर्षीया कान्छी श्रीमती मुस्कान भनिने जास्मिन खातुनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार खातुनले दुई वर्षीया बालिका खुशी खातुनको हत्या गरी घर पछाडिको झाडीमा फालेको आरोपपछि  घटना लगतै पक्राउ गरिएको थियो ।

सप्तरी प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनापछि पक्राउ परेकी खातुनसँग सोधपुछ गर्दा बालिकाको हत्या गरेको स्वीकार गरेको बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ । मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेकी खातुनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उहाँले भदौ ७ गते आइतबार बिहान भएको घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । घटना भएकै दिन बालिकाको शवको पोष्टमार्टम गरेर अन्तिम संस्कारको लागि बालिकाको आमाले बुझेर लगेका थिए ।