गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाको स्थलगत निरीक्षणका क्रममा मन्त्री गुरुङले मापदण्डविपरीतका उत्खनन कार्य रोक्न यस्तो कडा निर्देशन दिनुभएको हो ।

गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै उहाँले गम्भीर चासो व्यक्त गर्नुभयो । प्राकृतिक स्रोतको दोहन हुँदा समेत यसको रोकथाममा कसैले तदारुकता नदेखाएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

निरीक्षणका क्रममा स्थानीयवासीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा ‘सेटिङ’ मिलाएर अवैध उद्योगहरू सञ्चालन गर्न दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिले के भयो, त्यो आफ्नो ठाउँमा छ तर अब यस्ता गैरकानुनी गतिविधि मेरो पालामा चल्न दिइने छैन । अवैध क्रसरका कारण बस्ती नै जोखिममा पर्ने कार्यलाई म कडाइका साथ रोक्नेछु ।”