शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ग्राहकको रकम फिर्ता गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी परेको छ । प्रहरी कार्यालयमा उजुरी दिन बचतकर्ताको भिड लागेको थियो । 

सो सहकारीले डडेलधुरामा मात्रै ४१ करोड रुपियाँभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको पाइएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरी सञ्चालक र कर्मचारी फरार भएका छन् । दुई हजारभन्दा बढी पीडितले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख 

प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । 

पीडितको उजुरीका आधारमा साढे सात करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ । शुव्रmबारदेखि पीडितको उजुरी लिन सुरु गरिएकाले पीडितको सङ्ख्या बढ्दै जाने उहाँले बताउनुभयो ।

सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेलधुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्मै उजुरी आउन सक्ने भनाइ उहाँको छ । सहकारीका सम्बन्धमा अनुसन्धान सुरु भइसकेको छ, उहाँले भन्नुभयो, “थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत हुने छ ।” 

सो सहकारीको डडेलधुरामा करिब छ हजार ग्राहक रहेका छन् । यस सहकारीले देशभरि १४ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी बन्द भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ग्राहकको सावाँ र ब्याजबापतको रकम फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएको हो । 

सहकारीमा लगानी वा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम हुने भन्दै स्थानीयबाट निक्षेप सङ्कलन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार एक सूचना जारी गरी उजुरी दिनका लागि आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो सहकारीका विभिन्न जिल्लामा शाखा कार्यालय रहेका छन् । अन्य जिल्लामा रहेका कार्यालयबाट पनि बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा समेत उजुरी दिएकाले डडेलधुरामा पनि त्यस्तो समस्या भए सम्पर्कमा आउन प्रहरी कार्यालयले आग्रह गरेको हो । 

सहकारीको डडेलधुरा शाखाले ४१ करोड सङ्कलन गरे पनि ऋण लगानी भने सवा दुई करोड रुपियाँ मात्रै गरेको देखिएको छ । गत माघ महिनादेखि सो सहकारीले कारोबार बन्द गरिसकेको छ । शिवशिखर सहकारीले सर्वसाधारणको रकम हिनामिना तथा गलत कार्यमा प्रयोग गरेको आरोप पीडितको छ । 

यस सहकारीले शिवशिखर अर्गनाइजेसन, शिवशिखर प्रालि, शिवशिखर एग्रोलगायत विभिन्न फर्मका नामबाट व्यापार व्यवसाय तथा निक्षेप सङ्कलन गर्दै आएको थियो । डडेलधुराबाट सङ्कलित निक्षेप अर्गनाइजेसन र प्रालिलाई कर्जा दिएको उल्लेख गरिएको छ । 

तर सहकारीले कर्जा प्रवाह गरेको तथ्य प्रमाण भने फेला परेको छैन । कर्जा प्रवाह आफ्नै अर्गनाइजेसन र प्रालिलाई गरेको भन्दै स्थानीय एवं सहकारीका ग्राहक आव्रmोशित बनेका छन् । उनीहरूले सहकारीविरुद्ध उजुरी मात्र नभई सञ्चालकलाई तत्काल पव्रmाउ गरी सर्वसाधारण ग्राहकको रकम फिर्ताको माग गरेका छन् । उक्त घटनाका सम्बन्धमा सहकारीका डडेलधुरा शाखा कार्यालय प्रमुख तथा सञ्चालकलाई सम्पर्क गरी प्रतिव्रिmया लिन खोज्दा सम्पर्क हुन सकेन ।