सशस्त्र प्रहरी बल, नेपालले मकवानपुरको हेटौँडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो करिब १२:१५ बजे हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलमा सवारी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा त्यसमा सवार व्यक्तिहरू भाग्न खोजेपछि इन्टेलिजेन्स ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाँचका क्रममा अटोबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन् ।

पक्राउ परेका दुवै जना, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।