काठमाडौं, असार १७ — काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रु तथा सर्वसाधारणबाट लगातार गुनासो आएपछि सादा पोसाकमा प्रहरी परिचालन गरी विशेष अनुगमन सञ्चालन गरिएको थियो। सो क्रममा यात्रुलाई जबर्जस्ती सवारीमा तान्ने, झोला खोस्ने तथा दुःख–हैरानी दिने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूले सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। त्यसपछि उनीहरूलाई मिति २०८३ साल असार १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू विभिन्न जिल्लाका रहेका छन्, जसमा रुपन्देही, गोरखा, जुम्ला, बाँके, दाङ, रोल्पा, कास्की, डडेलधुरा, मुगु, उदयपुर, कैलाली, स्याङ्जालगायत जिल्लाका १७ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।
ट्राफिक प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा यात्रुको सुरक्षा, सहज आवतजावत तथा शान्ति–सुरक्षा कायम गर्न यस्ता अनुगमन तथा कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। साथै, यात्रुलाई कुनै पनि प्रकारको जबर्जस्ती, ठगी वा दुःख–हैरानी भएमा नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिकृयाहरु