काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टबाट प्रहरीले दुई केजी ९०० ग्राम अवैध चाँदीसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार बिहान ४:०० बजे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा उक्त परिमाणको चाँदी फेला परेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बसमा सवार पर्सा, फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्राबलाई नियन्त्रणमा लिएको छ ।

निजले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएको अवस्थामा बाह्र लाख चौध हजार पाँच सय बीस रुपियाँ बराबरको चाँदीका दाना बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका श्राबलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।