काठमाडौँ, माघ २ गते । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अग्रवाल परिवार सम्पर्कविहीन बनेको सूचनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताउनुभयो । सो सम्बन्धमा अझै औपचारिक उजुरी नपरेको र उजुरीपछि विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ । 
महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौँको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो । प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेलापारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको पत्रमा बैङ्क, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नुपरेको उल्लेख गरिएको छ ।

सो पत्रमा उनीहरूले व्यवसाय सञ्चालनका लागि व्यक्तिगत र मिटर ब्याजको समेत ऋण लिएको र अचाक्ली ताकेता आएपछि तनावमा परेकाले सम्पर्कविहीन हुनुपरेको उल्लेख छ । उनीहरूले पत्रमा मिटर ब्याजीले ऋण तिर्न दिएको तनावले आत्महत्या गर्ने अवस्थामा पुगेकोसमेत उल्लेख गरेका छन् ।
उनीहरूले आफूहरूको नाममा रहेको घर–जग्गाबाट ऋण असुली गर्न सक्नेसमेत पत्रमा उल्लेख गरेको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट अग्रवाल परिवारले लिएको ऋणबारे लगत सङ्कलनको काम गरिरहेको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले विभिन्न बैङ्कबाट लिएको ऋणबारे लगत सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

नेपाल इन्भेस्टमेन्ट बैङ्क र एभरेष्ट बैङ्कले ग्रीनलाइनको दरबारमार्गस्थित शोरुममा बैङ्कको सूचना टाँस गरेका छन् । अग्रवाल परिवारले अन्य वित्तीय संस्था र व्यक्तिगत गरी एक अर्ब रुपियाँभन्दा बढी रकम तिर्न बाँकी रहेकोसमेत खुलेको छ । 
कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रूपमा थिए । उनीहरू भागेर भारत पुगेको हुन सक्ने अनुमान गरिएको छ । नेपालका ठूला मदिरा तथा बियर कम्पनीलाई समेत उनीहरूले करोडौँको उधारो तिर्न बाँकी रहेको हुन सक्ने अनुमान गरिएको छ । लाखौँ पर्ने मदिराको व्यापारबाट घाटा भएको भने पनि उनीहरूले अवैध रूपमा रकम तेस्रो मुलुकमा पु¥याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कतिपय बैङ्कले कम्पनीको कारोबारका आधारमा विनाधितो ऋण दिएका कारण सो कर्जा के हुने भन्ने अन्योल रहेको छ । कोभिड–१९ का कारण कारोबारमा समस्या देखाएका उनीहरूले कतिपय होटल र रेस्टुरेन्टबाट समेत रकम उठ्न बाँकी रहेको पत्रमा दाबी गरेका छन् । काठमाडौँबाट नौ जनाको परिवार सजिलै कसरी अन्य मुलुक पुगे भन्नेबारे विभिन्न शङ्का गरिएको छ । 
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले सर्वसाधारणको निक्षेपबाट सञ्चालित बैङ्कले विनाधितो करोडौँको ऋण प्रवाह गरेकोबारे विस्तृत अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैङ्कको अनुगमन पक्ष कमजोर छ । बैङ्क डुब्नु भनेको जनताको पैसा डुब्नु हो ।”