बिर्तामोड, असोज २५ गते । 

दशैंमा तासको हारजितको विवादलाई लिएर झापा बिर्तामोडमा आफ्नै साथीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

महाअष्टमीका दिन राति तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले  सार्वजनिक गरेको हो  । अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरूमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटेल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटेल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटेल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया विमला राई रहेका छन् ।

गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस ४ सुरुमखिम घर भई हाल अर्जुनधारा ११ स्थित बसपार्क एरियामा बस्तै आएका गुरुङले  लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो । 

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरूले टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारनीका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो ।

-गोरखापत्र