मंगसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मतदान गर्ने दिन नजिकिंदै गर्दा  बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३, चुनिखेलका स्थानीय युवाहरूले सञ्चालन गरेको ‘चुनिखेल सचेतना अभियान’ ले मूर्तरूप लिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहौलका बिच चुनीखेलवासी युवाहरूले एकताको सन्देश दिने उद्देश्य अनुरूप सामूहिक भेटघाटको कार्यक्रमको आयोजना गर्दै अभियानको मूर्तरूप दिएका छन् ।

अराजनीतिक एकता रहने भन्दै युवाहरूले एकताको सन्देश दिएका छन् । करिब १ सय युवा अभियानमा सहभागी भएका छन् । केही दिन अगाडी सामूहिक भेटघाट गरेका उनीहरूले कुनै राजनीतिक दलको पक्षमा वकालत र मतदान गर्नु पर्ने अवस्था आएमा स्वतन्त्र रूपमा स्वविवेक निर्णय प्रयोग गर्ने बताएका छन् । 

स्वस्फुर्त रूपमा गठित अभियानले विशेषत राजनीतिक रूपमा देखिएको वितृष्णालाई चिरेर समाजमा आपसी भाइचारा कायम गर्न भूमिका निर्वाह गर्ने छ । राजनीतिक पार्टी भित्र देखिएको किचलोले परिवारबिचमा निम्तिएको द्धन्दलाई निरुत्साहित गर्दै अभियानले चुनिखेलमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने जनाइएको छ । 

चुनावताका सक्रिय भएको यो अभियानले राजनीतिक दलहरूले गरेको निर्वाचनको अङ्कगणितमा फेरबदल ल्याउन सक्ने अनुमान गरिएको छ । स्थानीय युवाहरूको ठुलो जमात अभियानमा सरिक भएकाले दलका नेताहरू सचेत गराउने गरी यो अभियानले आगामी दिनमा थप सशक्त रूपमा काम गर्ने अभियानका सदस्य रामकृष्ण श्रेष्ठले बताए । 

हाल यो अभियान चुनिखेलमा केन्द्रित देखिए पनि देशभरका युवा जमातलाई समेटेर यो खालको गतिविधि सञ्चालन गर्दै सु–संकारसहितको राजनीतिक थालनीका लागि युवाहरूले भूमिका निर्वाह गर्ने चुनिखेल सचेतना अभियानले जनाएको छ । 

मुलत पछिल्लो समय देशमा राजनीतिक दलहरूका लागि स्वतन्त्र भारी परिरहेको बेला चुनिखेलबाट उदाएको यो अभियानलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।