“हाम्रो भाषा, संस्कृति र कलालाई सम्पदासम्म मात्र सिमित नभई हाम्रो पुँजि, हाम्रो सम्पत्ति हो”

यस वर्ष तामाङ्गहरुको नयाँ वर्ष सोनाम ल्होछारको दिन अलि भिन्न बनेको छ । बाघ वर्ष अर्थात (ते ल्हो) लाई बिदाई गर्दै बिरालो वर्ष (हि ल्हो) मा प्रवेश गरेको छ । ल्होछारको रौनकले आज नगरपालिकाका सबै जात जाती, समुदाय, तथा नगर वासीहरु विभिन्न लोक सांस्कृतिक गाना तथा नाचमा झुमेका थिए । 

स्थानिय तहमा पहिलो पटक विभिन्न समुदायहरु जसमा गुरुङ्ग, शेर्पा, तामाङ्ग लगायतको (तमु, सोनाम र ग्याल्बो) संयुक्त ल्होछार/ ल्होसार धुमधामले मनाइएको छ । 

बु.न.पा नगर उप-प्रमुख अनिता लामाको संयोजनमा आज २८५९औँ सोनाम ल्होसारको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त सो कार्यक्रम आयोजना गरिएको थियो। 

माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यता, विशेष अतिथिमा बागमती प्रदेश सभा सदस्य माननीय मिना पराजुली, अतिथिहरुमा बागमती प्रदेश सभाका पूर्व माननीय दिपक निरौला, र सीता लामा, नगरपालिकाका पूर्व नगर उप-प्रमुख रमा देवी राई लगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु लगायत विभिन्न राजनैतिक दल तथा संघ-संस्थाहरुका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रमको शुरुवात गर्दै उप-प्रमुख अनिता लामाले आफ्नो शुभकामना मन्तव्य मार्फत हामीबिच रहेको हाम्रो सामाजिक मुल्य मान्यता, कला, संस्कृतिहरुलाई प्रवर्द्धन मात्र गर्ने होइन यसलाई हाम्रो पुँजिको रुपमा समेटेर अघि बढ्नुपर्ने र यसमा नगरपालिका प्रतिवद्ध रहेको समेत घोषणा गर्नुभएको थियो ।

त्यस्तै मन्तव्य प्रस्तुत गर्दै अतिथिका रुपमा उपस्थित लुम्बिनी विकास कोषका सदस्य सचिव तथा संस्कृतिविद् अजित मान तामाङ्गले ल्होछारको महत्व तथा ल्होछार मनाउनुको प्रमुख उद्धेश्यका विषयमा आफ्नो भनाई प्रस्तुत गर्नुभएको थियो।  

औपचारिक कार्यक्रमहरु सँगसँगै नगरपालिकाका विभिन्न स्थान तथा समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, किराँत राई यायोक्ख, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु समेटिएका थिए । जसमा बु.न.पा २ को कृयाशिल शेर्पा समुदायको साँस्कृतिक प्रदर्शनी, वडा नं ०१ र ०५ बाट संयुक्त झाँकि तथा भोम्बो नाँच, वडा नं ०२  किराँत राई यायोक्ख प्रस्तुति, वडा नं २ बाट पञ्चकुमारी बासुरी खल: को सांगीतिक प्रस्तुति, लगायत अन्य एकल तथा सामुहिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।