काठमाडौं, जेठ २९ गते । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोलले पराजित भयो । 

कुवेतको जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक एक गोल गर्नुभयो । नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काउनुभएको थियो । २८औं मिनेटमा फाहदले हेड गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाउनुभयो । ४८औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाउनुभयो । ७०औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतको अग्रता थप बलियो बनाउनुभयो । 

७३औं मिनेटमा अल्फानिनीले गोल गर्दै केवेतलाई फराकिलो जित नजिक लग्नुभयो । त्यसपछि इन्जुरी समयमा नेपालका दर्शन गुरुङले सान्त्वना गोल गर्नुभएको थियो । नेपालले कुवेतविरुद्ध ४० बर्षपछि गोल गरेको हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो । छनोटको समूह ए मा रहेको नेपालले लगातार दोस्रो हार खेपेपछि एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । 

प्रशिक्षक अलमुताइरी बेहोसभई ढलेपछि 

कुवेतविरुद्ध खेल चलिरहेका बेला नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएको थियो । अचेत भएपछि उहाँलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अक्सिजन लगाएर अस्पताल लगेको थियो । 

अलमुताइरीलाई मुटुको समस्या रहेको बताईएको छ । अलमुताइरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र अहिले उहाँको अवस्था सामान्य रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । कुवेतसँगको हारलाई प्रशिक्षक अलमुताइरीले क्षमायाचना गर्दै छनोट खेल सकिएपछि आफ्नो स्वास्थ्यको पूर्ण परिक्षण गर्ने समेत बताउनुभएको छ । 

खेलपछि नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले कुवेतसँग हारेपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताउनुभयो । ‘हामीले खेल हार्यौं । तर, प्रदर्शन राम्रो थियो । दोस्रो हाफमा टिम सेटमा समस्या हुँदा धेरै गोल खायौं,’ श्रेष्ठले भन्नुभयो । नेपालले समूहको अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्नेछ ।