घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुबकुमार शिवाकोटी पक्राउ पर्नुभएको छ । 

झापा बिर्तामोड नगरपालिका ५ निवासी पूर्व नगरप्रमुख ६८ वर्षीय शिवाकोटीले घरमा काम गर्न राखिएको बालिकामाथि पटक–पटक करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । 

शिवाकोटीले बालिकालाई पटक–पटक बलत्कार गरेपछि घरबाट भागेर अन्यत्र जानलाग्दा नेपाल भारत सिमास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाले फेला पारी सोधपुछ गर्दा उक्त घटना बाहिर आएको हो । 

पीडित बालिकाको आफन्त नेपालमा नरहेको र भारतमा रहेका आफन्तकोमा जान लाग्दा नेपाल–भारत सिमाबाटै बालिकालाई प्रहरीले फेला पारेको जनाइएको छ । 

उक्त जाहेरीसँगै घटनामा संलग्न शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार घरबाटै पक्राउ गरिसकेको प्रवक्ता चन्दले बताउनुभयो । 

पक्राउ परेका शिवाकोटी सोमबार  साँझै अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उहाँलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका तर्फबाट शिवाकोटीविरुद्ध सोमबारनै  इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख  प्रहरी नायब उपरीक्षक  प्रकाश विष्टले बताउनुभयो । मङ्गलकार शिवाकोटीलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने विष्टले जानकारी दिनुभयो । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरएको छ ।

करिब आठ वर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी बालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको खुलेको छ ।

बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । आफन्त कोही नभएकी ती बालिकाको तत्कालिन नगरप्रमुख शिवाकोटीले अभिभावकत्व ग्रहण गर्ने भन्दै घरमा राखेर पढाउदै आउनुभएको थियो । पीडित बालिकाले अन्तिम समय गत मङ्सिर १५ गते राति पढिरहेको बेला जवरजस्ती करणी गरेको बताएकी छिन् । -गोरखापत्र अनलाइन