सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरमा सोमबार बिहान यात्रुबाहक बस र कार ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ। कारमा सवार चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंंँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।
बाढीका कारण उद्धारमा कठिनाइ
सुनकोशी नदीमा आएको बाढीका कारण कार र बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका टोली घटनास्थलमा परिचालन गरिएको छ।
सुरक्षा निकायले नदीमा बेपत्ता कार र यात्रुको खोजीलाई प्राथमिकताका साथ अघि बढाएको छ। घटनाको थप विवरण तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृयाहरु