युएई पठाउने भनी ४५ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय रामदास महर्जन पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, कार्यालयका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका अनुसार स्थायी घर काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नंं ८ का महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।

यसैगरी, अजरबैजान पठाउने भनी ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय वाङ्दी लामा, कोसोभो पठाउने भनी दुई लाख ५० हजार रुपियाँ ठगी गर्ने ललित बहादुर तामाङ, स्पेन पठाउने भनी १५ लाख रुपियाँ ठगी गर्ने ३४ वर्षीय सन्तोषी लामा र क्यानडा पठाउने भनी २० लाख रुपियाँ ठगी गर्ने सरिब गिरी पक्राउ परेका छन् ।

जसमध्ये महर्जन र गिरीको स्थायी ठेगाना काठमाडौँ रहेको छ भने स्थायी घर रामेछाप मन्थली नगरपालिका–११ का तामाङ भक्तपुर बस्दै आएका थिए । स्थायी ठेगाना सिन्धुपाल्चोक भोटेकोशीका वाङ्दी लामा र धादिङका सन्ताषी लामा हाल काठमाडौँ बस्दै आएका छन् । 

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी उनीहरु सम्पर्कविहिन बनेका थिए ।उनीहरुलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।