संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। 

उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत्‌ प्रणालीमा आक्रमण भएको छ।

रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको छ।

मस्कोस्थित रक्षा मन्त्रालयले "तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको" दाबी गरेको छ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले ५० वटा क्रुज क्षेप्यास्त्रमध्ये ४४ वटा खसालिदिएको त्यहाँको वायुसेनाले जनाएको छ। 

युक्रेनका प्रहरी प्रमुखले रुसी आक्रमणमा १३ जना घाइते भएको जानकारी दिए पनि हताहत भए वा नभएकोबारे कुनै विवरण आएका छैनन्।

यसअघि रुसले गाभेको क्राइमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो।