वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा पठाउँछु भन्ने बिचौलियाको भ्रममा नपर्न आग्रह गरेको छ । 

पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो । 

मौसमी श्रमिक व्यवस्थापन निर्देशिका–२०७९ को दफा ४ अनुसार मौसमी श्रमिकमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ तर यो व्यवस्थाविपरीत प्रलोभन देखाई केही संस्था वा व्यक्तिले पैसा असुलेर ठग्ने क्रम बढेको पाइएकाले यसप्रति सचेत हुन विभागले आग्रह गरेको छ ।  

निर्देशिकाबमोजिम नेपालबाट मौसमी श्रमिक लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएकोबारे पनि विभागले प्रस्ट पारेको छ । यस्तै कसैले मौसमी श्रमिकमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर बुझ्नसमेत विभागले सूचनामार्फत जानकारी गराएको छ ।