पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् ।

माथागढीको वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीका अनुसार भुस्याहा कुकुरको टोकाइबाट एकैदिन २८ जना बढी घाइते भएका हुन् । एउटै कुकुरले केहीको अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेपछि उपचारका लागि रातारात तानसेनस्थित पाल्पा अस्पताल र युनाइटेड मिसन अस्पतालमा पठाइएको छ ।

एकैदिन कुकुरले चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले, खहरे, सराई आसपासका नागरिकलाई टोक्दै भाग्दै गरेको हुँदा स्थानीय त्रसित भएका छन् ।

टोक्ने भुस्याहा कुकुरको खोजी गरी त्यस कुकुरले टोकेका अन्य कुकुरको पनि पहिचानका लागि गाउँपालिकाले पहल गर्ने वडाध्यक्ष पन्थीले बताउनुभयो ।

बिहीबार पहिचान भएका बाहेक अन्यमा पनि कुकुरले टोकेको हुनसक्ने र अन्य कुकुरले पनि टोक्न सक्ने हुँदा सचेत हुन स्थानीय सरकारले अनुरोध गरेको छ ।-