काठमाडौं, पुस १८ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलले अनुमोदन गरेको हो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दिनुभयो ।

माओवादीले आइतबार नै निर्वाचन आयोयगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राई अनुमोदन गरेको थियो ।

पुस ११ दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको थियो । महाधिवेशनको दोस्रो दिन पुस १२ गतेबाट बन्दसत्र सुरु भएको थियो ।बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो भने देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नुभयो । सोही दिन प्रतिवेदनमाथि छलफलका लागि २५ समूह गठन भए ।

महाधिवेशनको तेस्रो दिन पुस १३ गते वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा बृहत् छलफल भयो । चौंथो दिन पुस १४ गतेबाट समूहगत छलफलको प्रस्तुति सुरुभयो । ११ वटा समूह प्रमुखले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । बाँकी समूहले भने पुस १५ गते निष्कर्ष प्रस्तुत गर्नुभयो ।

महाधिवेशनको छैठौं दिन पुस १६ गते पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत भए । सोही दिन अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उहाँले स्थायी कमिटी सदस्य क। राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क। लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको जानकारी गराउनुभयो ।

समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावलाई दस्तावेजमा समावेश गर्ने प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पारित गरेको थियो ।

महाधिवेशनको सातौं दिन पुस १७ गते पार्टी स्थायी कमिटी सदस्य गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभयो ।

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गर्यो‍ ।

महाधिवेशनको आठौं दिन महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यको नाम प्रस्तुत गरेर अनुमोदन गरेको छ । अध्यक्ष प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्दसत्र समक्ष प्रस्तुत गर्नुभयो । प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यको नाम आइतबार महाधिवेशनले सर्वसम्मतले पारित गरेको हो ।

अध्यक्ष प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यको नामावली बन्दसत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावली नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

सोमबार विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारी चयन गर्ने जानकारी गराउनुभएको हो ।