काठमाडौँ, माघ २ गते । उपत्यकामा कोरोनाको नयाँ लहरले सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि यहाँका स्थानीय तहले उच्च सतर्कता अपनाएको दाबी गरेका छन् । अहिले देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र जटिल अवस्था सिर्जना भई स्वास्थ्य संस्थाले उपचार गर्न नभ्याए अस्थायी आइसोलेसन निर्माण गरी नागरिकलाई जोखिमबाट बचाउने तयारीमा स्थानीय तह छन् । अहिले परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकामा देखिँदै आएका छन् ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना सङ्क्रमित थप बढ्दै गए यसअगाडि सञ्चालनमा आएको सामाखुसीको आइसोलेसन सेन्टरलाई महानगरपालिकाले पुनः सञ्चालनमा ल्याउने बताउनुभयो । उक्त आइसोलेसन सेन्टर महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा निर्माण भएको हो । “कोरोनालाई हेलचेक्र्याईं नगर्न महानगरपालिकाले सधैँ आमनागरिकलाई सचेत गराउँदै आएको छ,” उहाँले भन्नुभयो, “आमनागरिकको स्वास्थ्य नै पहिलो सम्पत्ति हो । व्यक्ति स्वस्थ रहे अन्य काम पछि पनि गर्न सकिन्छ ।”

उहाँका अनुसार महानगरपालिकाले विभिन्न सामुदायिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गरेको छ । तत्काल अस्पताल निर्माण गर्न नसकिए पनि काठमाडौँभित्रका विभिन्न सामुदायिक अस्पताललाई महानगरपालिकाले स्वास्थ्य उपकरण प्रदान गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिनसमेत उहाँले सबैसँग आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि ललितपुर महानगपालिकाले उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाँका अनुसार ललितपुर महानगरपालिकामा वडा नं. ४ स्थित बागडोलमा ११० शøयाको अक्सिजनसहितको आइलोलेसन तयारी अवस्थामा छ । कतिपय सङ्क्रमितले अहिले त्यहीँबाट सेवा लिइरहेका छन् । उक्त आइसोलेसनमा बिरामीलाई चार छाक सन्तुलित आहारको समेत व्यवस्था महानगरपालिकाले गरिरहेको छ । उहाँले भन्नुभयो, “उक्त ११० शøया आइसोलेसन भरिने अवस्था भयो भने महानगरपालिकाले अर्को व्यवस्था गर्न तयारी गरिरहेको छ ।”

कोरोनाका सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको नियमित रूपमा पीसीआर गर्ने कार्य गरिरहेको र महानगरभित्र रहेका विद्यालयस्तरमा ४४ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने लक्ष्यसाथ अहिले धमाधम खोप सेवा सञ्चालन भइरहेका छन् । यसअघि खोप लगाउन छुटेका व्यक्तिलाई पनि खोप प्रदान गर्ने कार्य जारी रहेको प्रमुख महर्जनले बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार भक्तपुर नगरपालिकाभित्र अहिले एक लाख ४१ हजार ३३९ मात्रा खोप प्रदान गरिएको छ । अहिले पनि खोप लगाउने कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।