काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको सभापति पदको लागि फेरि मतदान हुने भएको छ । आइतबार विहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाउनुभए पनि बहुमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सभापतिका लागि दोस्रो चरणमा मतदान हुने जानकारी दिनुभयो । उहाँका अनुसार मतदान आजै हुने र केही बेरमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइनेछ । आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो ।

यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत आवश्यक पर्छ । यद्यपि, सबैभन्दा धेरै मत ल्याउनुभएको देउवाले २२५८ मत्र मात्र पाउनुभयो । उहाँलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएका थियाे । दोस्रो चरणमा हुने मतदानमा प्रधानमन्त्री देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।