मेरो वृत्ति मेरो खोजि भन्ने नारा सहित बुढानीलकण्ठ नगरपालिकामा “वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला २०८०” BUDHANILKANTHA CAREER FAIR को दोस्रो संस्करण यहि ज्येष्ठ ६ र ७ गते आयोजना हुँदै छ ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा २ दिने मेला हुन लागेको हो ।मेला बूढानीलकण्ठ नगरपालिकाको प्रशासनीक भवन परिसरमा हुने जनाईएको छ ।

बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र +२ दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना हुन लागेको हो ।

यस मेलामा ३ किसिमका सहभागीहरु रहने छन् । जसमा, “बेरोजगार व्यक्ति, युवा र गृहीणी महिला”, “क्षमता विकास तथा सिपमुलक तालिम दिने संस्था” र “रोजगारदाता संघ-संस्था तथा कम्पनी” ।

बुढानीलकण्ठ नगरपालिकामा हाल २९९ जना सुचीकृत बेरोजगारहरु छन् । सुचिकृत भएका र नभएका दक्ष तथा बेरोजगार व्यक्तिहरुलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने र सीप नभएकालाई आवश्यक तालिम तथा परामर्श प्रदान गर्ने मेलाको उद्देश्य छ ।

मेलामा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई वृत्ति विकास सम्बन्धी आवश्यक परामर्श, सिपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी र कार्यस्थलमा आधारित सीपमुलक तालिमबारे जानकारी तथा परामर्श दिईने छ ।दक्ष जनशक्तिको खोजिमा रहेका रोजगारदाताहरुले सोहि मेलामै रोजगारीको अवसर समेत प्रदान गर्ने विश्वास लिएको छ ।

नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय परिकल्पना तथा ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यलाई यस मेलाले केहि न केहि संख्यामा सहयोग पुर्याउने अपेक्षा लिएको छ ।

स्थानीय जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैकिङ्ग, पर्यटन र होटल व्यावसाय क्षेत्रमा खपत गर्ने लक्ष्य समेत यस मेलाले लिएको छ ।

मेलामा ५० भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तता परामर्श दिने संघ संस्थाहरुले स्टल राख्ने छन् । जसमध्य महिला उद्यमी तथा व्यवसायीहरुको ६ वटा स्टल रहनेछन् भने, शैक्षिक संस्थाको ५ वटा, तालिम तथा रोजगार प्रदान गर्ने संस्थाहरुको ८ वटा, बैंकको १ वटा, होटल तथा पर्यटनको २ वटा, उद्योग तथा व्यवसीहरुको १० वटा लगायत नगर युवा परिषद, स्काउट र मौलिक खानेकुराका फुड स्टलहरु हुनेछन् । सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको छ । साथै मेलामा प्रवेश शुल्क पनि लाग्ने छैन।

यसका साथै मेलामा प्रतिभा डबली, वृत्तिमा आधारीत युवा संवाद/CAREER DISCOURSE, भिडियो डकुमेन्ट्री प्रदर्शन लगायत विविध साँसकृतिक प्रदर्शनीहरु हुने छन् ।

बेरोजगार युवा तथा दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न तत्पर एवं सीप सिकाई स्वरोजगार बनाउन भुमिका खेल्ने तालिम प्रदायक संस्थाहरुलाई यो एक सुनौलो अवसर भएकोले ज्येष्ठ ६ र ७ गते मेला भ्रमण गरेर प्रत्यक्ष लाभ लिनुहुन सम्पुर्ण नगरवासीहरुलाई नगरपालिकाले अपिल गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बूढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

यस संस्करणमा करिव १० हजार जनाले अबलोकन भ्रमण गर्ने आयोजकले अपेक्षा राखेको छ ।