बुढानीलकण्ठ नगरपालिका–१३, चुनीखेलस्थित जन उद्धार माध्यमिक विद्यालयका लक्षित वर्गका विद्यार्थीहरूलाई नगर प्रमुख छात्रवृत्ति कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गरिएको छ। विद्यार्थीहरूको शैक्षिक पहुँच सुनिश्चित गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले विद्यार्थीहरूलाई विद्यालय झोला, आवश्यक कापी–कलम तथा जनही एक हजार रुपैयाँ नगद हस्तान्तरण गरेका थिए। कार्यक्रममा वडा नं. १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ, जनप्रतिनिधिहरू, शिक्षा महाशाखाका उपसचिव ललित विक्रम सिंह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले आर्थिक वा सामाजिक अवस्थाका कारण कुनै पनि विद्यार्थी शिक्षाको अवसरबाट वञ्चित हुन नहुनेमा जोड दिँदै सामुदायिक विद्यालयहरूको शैक्षिक पहुँच र गुणस्तर अभिवृद्धि नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले शिक्षामा गरिएको लगानीले सक्षम, जिम्मेवार र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उपप्रमुख अनिता लामाले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै सबै विद्यार्थीलाई समान शैक्षिक अवसर उपलब्ध गराउन नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताइन्। उनले छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा अन्य शैक्षिक कार्यक्रममार्फत सामुदायिक विद्यालयका विद्यार्थीलाई थप प्रोत्साहन दिइने जानकारी समेत गराइन्।
बुढानीलकण्ठ नगरपालिकाले नगर शिक्षा अभियानअन्तर्गत सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ नगर प्रमुख छात्रवृत्ति कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिकाको विश्वास छ कि यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षामा समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रतिकृयाहरु