काठमाडौं । मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा ज्यान गुमाएकाका परिवारले तीनबुँदे सहमति भएपछि शव बुझ्न सहमति जनाएका छन्। सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिसहित भएको छलफलमा पीडित परिवारले राखेका माग सम्बोधन गर्ने सहमति जुटेपछि मृतकका आफन्तले शव बुझेर सर्लाही लैजाने तयारी गरेका हुन्।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार परिवारले दुर्घटनाका दोषीलाई कारबाही, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा क्षतिपूर्तिसम्बन्धी तीन माग राखेका थिए। छलफलमा ती माग सम्बोधन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो।

“हामीले तीनबुँदे माग राखेका थियौँ। त्यसमा सहमति भएको छ। अब केहीबेरमा शव बुझेर सर्लाही हिँड्छौँ,” अध्यक्ष यादवले बताउनुभयो।

सहमतिअनुसार दुर्घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणको जिम्मेवारी राज्यले लिने तथा गाडीधनी र बीमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्ति रकममा थप रकम उपलब्ध गराइनेछ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको शव हेटौँडास्थित सरकारी अस्पतालमा राखिएको छ। शव सर्लाही पुर्‍याएर सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ। मृतकको गाउँ सुन्दरपुरमा अन्त्येष्टिको तयारीका लागि स्थानीयवासी जुटेका छन्।

एकै गाउँका १३ सहित १४ जनाको मृत्यु

छठ पर्व मनाउन सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।

मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका हुन् भने एक जना चालक कविलासी नगरपालिकाका रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा हायस चालक सर्लाहीको कविलासी नगरपालिका–८, अगर्बाका ३० वर्षीय रवीशङ्करकुमार मण्डलसहित यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा २८ वर्षीया पुनम यादव, उहाँका पाँच वर्षीया छोरी दीपिका, सात वर्षीया दीक्षा र १० वर्षीया अनुकुमारी, २६ वर्षीय विकेश यादव, १७ वर्षीय सुधेश यादव, ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन्।

एकै परिवारका छ सदस्यको मृत्यु

दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादव अचेत भएपछि हेटौँडा अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उहाँकी आठ महिनाकी गर्भवती श्रीमती पुनम, तीन छोरी र दुई भाइको दुर्घटनामा मृत्यु भएको हो।

यस घटनाले सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ। एकै परिवारका छ सदस्यसहित एकै गाउँका १३ जनाको ज्यान गएपछि गाउँमा शोक र रुवाबासी छाएको छ। छठ पर्वका कारण अन्यत्र उल्लासको वातावरण रहँदा सुन्दरपुर भने शोकमा डुबेको छ।

घाइतेको विभिन्न अस्पतालमा उपचार

दुर्घटनामा घाइते भएका सुन्दरपुरका तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ।

त्यस्तै, ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशङ्का

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशङ्का रहेको बताउनुभएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको हायस बुधबार राति मात्रै सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो। लामो दूरीको यात्रापछि भएको दुर्घटनामा चालकको थकान वा निद्राको भूमिका रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घटनापछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।