मौसम पूर्वानुमान महाशाखाले देशभर अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ। देशभर मनसुनी वायुको प्रभावले अहिले वर्षा भइरहेको र योक्रम तीन दिनसम्म चल्ने महाशाखाको पूर्वानुमान गरेको हो। 

मंगलबार प्रदेश नं १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पुर्ण बदली भएर वर्षा भएको छ। 

मंगलबार रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। 

प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

योक्रम बुधबार र बिहीबारसमेत रहने देखिन्छ। बिहीबार देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अविरल वर्षाका कारण बाढी, पहिरो र भू-क्षयको जोखिम हुने हुँदा सचेत रहन महाशाखाले अनुरोध गरेको छ। सोमबार रातिदेखि परेको पानीले प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका अधिकांश भाग डुबानमा परेका छन्।