आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरीले दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकलाई निलम्बन गरेको छ । प्रहरीले निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अगाडी बढाइएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बेओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।

सुवेदीले यहीँ कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा सवारी दुर्घटना हुन पुगेको जनाएको छ । त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानविन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले मगरलाई पनि निलम्बन गरिएको जनाएको छ ।