दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर सरोज कुमार दाहालमाथि झुट्टा प्रतिवेदन बनाई रकम हिनामिना गरेको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा गुराँस गाउँपालिकाको वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणको काममा रकम हिनामिना गरेको विषयमा उजुरी निवेदन परेको र अनुसन्धानका क्रममा दाहाल र सव–इन्जिनियर नवीन कुमार बिसीले आपसी मिलेमतोमा उक्त कार्य गरेको आरोप लागेको छ । 

आरोपितमाथि सडक निर्माण योजनाको सम्झौतामा निर्धारित सर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आरोप लागेको आयोगले जनाएको छ । 

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत, काठमाडौंमा निजहरूमाथि आरोपपत्र दायर गरिएको छ ।