काठमाडौं, चैत ६ गते । वसन्त ॠतुमा सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोहण मार्ग निर्माण गर्ने जिम्मा २५ औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामी रीता शेर्पाले पाउनुभएको छ । चुचुरोसम्म पुग्न बाटो निर्माणसँगै डोरी टाँग्ने जिम्मा उहाँकाे नेतृत्वमा आठ जनाले पाउनुभएकाे हो ।

कीर्तिमानी आरोहीसहितको टोलीमा गाइड सोना, ङिमा टासी, छिरिङ ग्याल्जेन, फुरा छिरिङ, फुर्वा छेतार शेर्पा, फुर्वा कुसाङ र लाक्पा तेन्जिङ शेर्पा छन् ।

आरोहीका लागि सहज बाटो निर्माण गर्ने जिम्मेवारी पाएको सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले मे महिनाको पहिलो सातामा बाटो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

सगरमाथा आरोहणका लागि उपयुक्त समय मे महिनाको पहिलो सातादेखि तेस्रो सातासम्मलाई मानिन्छ । यस वर्ष पनि मौसमले साथ दिए सोही अवधिमा आरोहण सम्पन्न हुनेछ । त्यसका लागि तोकिएकै समयमा बाटो निर्माण सम्पन्न हुने बताइएकाे छ ।

यसका लागि सङ्घले प्रत्येक विदेशी आरोहीबाट छ सय डलर असुल गर्ने गरेको छ । यता, वर्षेनी दोस्रो क्याम्पभन्दा माथि टाँगिएको डोरी फिर्ता नल्याइँदा आरोहणमा समस्या भएको भन्दै आरोहीहरुले नयाँ डोरी टाँगिएसँगै पुराना डोरी फिर्ता ल्याउन माग गर्दै आएका छन् ।

गत वर्ष सगरमाथा आरोहणका लागि ३९८ जना विदेशी आरोहीले अनुमति लिएर हालसम्मकै धेरै आरोहीको रेकर्ड बनाएका थिए । यस वर्ष युक्रेन र रुसको द्वन्द्वकारण हिमाल आरोहीको सङ्ख्यामा कमी आउने व्यवसायीहरुले जनाएका छन् ।

पर्यटन विभागको तथ्याङ्कअनुसार करिब ३० प्रतिशत आरोहीहरु रुस र युक्रेनबाट आउने गरेका छन्।