काठमाडौं, जेठ १९ गते । भारतको पूर्वाेत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । मणिपुरको नोने जिल्लामा चारदिने अघि निर्माणाधीन रेलवेमा पहिरो गएकाे हाे ।

हराएका मध्ये १३ जनाको शव तीनदिनपछि शनिबार निकालिएको हो । कोही जीवित छन् कि भनेर खोजतलास गर्दा ती शवहरु फेला परेका हुन् राजधानीबाट ७५ किलोमिटर टाढा रहेको सो क्षेत्रमा जुन २९ र ३० मा भयानक पहिरो गएको थियो । 

रेलवे निर्माणको सुरक्षार्थ खटिएका १०७ भारतीय आर्मी क्याम्पलाई पनि क्षति पुगेको छ । 

‘निकालिएका १३ जनाको शवमध्ये ८ जना सेना थिए ।’ सरकारी अधिकारीहरुलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

ती सरकारी अधिकारीहरुका अनुसार सो क्षेत्रमा अविरल वर्षासँगै पहिरोहरु गइरहेकाले जनधनको क्षति न्यूनिकरण गर्न सर्वसाधारणलाई चनाखो हुन अपिल गरिएको छ । त्यहाँ अविरल वर्षाका कारण खोल्सा र नदीहरुमा पानीको बहाव बढिरहेको छ । 

यसैबीच, मणिपुर राज्यका दुईजना मन्त्रीहरु एस रञ्जन (स्वास्थ्य) र एल सुसिन्द्रो (उपभोक्ता)ले पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ ।

खोजतलास र विपदमा परेकाहरुको उद्धार गर्न केन्द्र र राज्य सरकारका ४०० जना स्वय्मसेवकहरु परिचालित भएका छन् ।

हराएका मध्ये २९ वर्षीय काबाम्गाइ र श्रीमति र साढे एक वर्षीया छोरी रहेका छन् । तिनीहरुले त्यहाँ पसल सञ्चालन गरेका थिए ।

यसैबीच, शनिबार विहान नोने जिल्लाको मारागङचिङ क्षेत्रमा पुनः गएको पहिरोमा प्रारम्भिक रुपमा कुनै पनि हताहतिको खबर नआएको विपद व्यवस्थापनका अधिकारीहरुले बताएका छन् ।

–उपेश महर्जन (हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया)