मुस्ताङ, वैशाख ३१ गते । हिमालपारीको जिल्ला मुस्ताङमा नेकपा एमाले दुई र नेपाली काँग्रेसले एक स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ भने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा काँग्रेसलाई हराउँदै एमालेले प्रवेश गरेको छ । लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा भने अघिल्लो पटक स्वतन्त्र उम्मेदवारका रुपमा जितेका उम्मेदवारले यस पटक एमालेका तर्फबाट विजय हासिल गर्नुभएको हो ।

मुस्ताङको लोघेकर दामोडर कुण्ड गाउपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले प्रमुख उपप्रमुख जितेको छ भने घरपझोङ गाउँपालिकामा काँग्रेसले प्रमुख उपप्रमुख जितेको छ । शनिबार दिउँसो घोषणा भएको अन्तिम परिणाम अनुसार बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित पाँचमध्ये ४ वडा एमालेले जितेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समीर थापाले बताउनुभयो । थापाका अनुसार एमालेका तर्फबाट अध्यक्ष रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजय हुँदा नेपाली काँग्रेसका आङजेन गुरुङले ५७७ मत पाउनुभएको छ । उपाध्यक्षमा एमालेकी दिकी गुरुङ ७४९ मत सहित विजयी हुँदा कांग्रेसकी धेवआङवो गुरुङले ६७७ मत पाउनु भएको छ । अध्यक्षमा २९० एवम् उपाध्यक्षमा ७२ मतान्तरले जित हार भएको सूचना अधिकारी थापाले बताउनुभयो ।

अघिल्लो स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको घरपझोङ गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचनले ७६० मत र उपाध्यक्षमा जमुना थापामगरले ६९३ मत प्राप्त गरी बिजय हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सञ्जय कुमार थकालीको ७५८ र उपाध्यक्ष मिमकुमारी शेरचनको ६१८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका कमला लालचनले १८४ मत प्राप्त गर्नुभएको छ । 

लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल बिष्टले ६८९ र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङले ६४२ मत सहित बिजयी हुनुभएको छ । अध्यक्षमा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी गुरुङले २२५ मत सहित निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो ।