अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग खेलेका विदेशी खेलाडीका लागि खाद्य सामाग्री उपलब्ध गराएको छ।

लिग खेल्न नेपाल आएका विदेशी खेलाडीहरु कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशव्यापी लकडाउन जारी गरेपछि नेपालमै रोकिएका छन् । एन्फाले उनीहरुका लागि चामल, दाल, तरकारी लगायत खाद्यान्न प्रदान गरेको हो।फागुन पहिलो साता ए डिभिजन लिग सम्पन्न भएको थियो । ए डिभिजनका विभिन्न क्लबका गरि २८ जना विदेशी खेलाडी काठमाडौंमा रहेको एन्फाले जानकारी दिएको छ ।

एन्फाले आफ्नै एम्बुलेन्समा खेलाडीहरुसम्म सामाग्री पुर्‍याएको छ । एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई आफ्ना दुई एम्बुलेन्स कोरोना भाइरसको संक्रमण नसकिएसम्मका लागि प्रयोग गर्न हस्तान्तरण गरेको थियो ।

यस्तै एन्फाको रौतहटस्थित महिला एकेडेमीमा स्थानीय ४० भन्दा बढी मानिसहरू क्वारेन्टाइनमा रहेका छन् ।