स्ट्राइकर सुनिल बल चम्किएपछि साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) क्लबलाई २–१ गोलले हरायो ।

मच्छिन्द्रको जितमा दुवै गोल सुनिल बलले गर्नुभयो । एनआरटीका एरिक बिष्टले सान्त्वना गोल फर्काउनुभयो । सुनिलले १२औँ मिनेटमा विशाल राईको पासमा खाता खोल्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमो दोस्रो हाफको सुरुवातमै एनआरटीले बराबरी गोल पर्कायो । ५४औँ मिनेटमा एरिक बिष्टले ३५ यार्ड लामो फ्रिकिकमा गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

मच्छिन्द्रका स्टेफनले फल गरेपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो । जसमा एरिकले उत्कृष्ट गोल गर्नुभयो । एनआरटीको गोलपछि जोसिएको मच्छिन्द्रले ८०औं मिनेटमा निर्णायक गोल गरेको थियो । सुनिलले ८०औँ मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

जितसँगै मच्छिन्द्रले तीन अंक बनाएको छ । एनआरटीले हारबाट सिजनको सुरुवात गरेको छ । मच्छिन्द्रका सुनिल बल ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।