काठमाडौँ, मङ्सिर ३ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबारदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको उद्घाटन खेलमा ललितपुरको फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ए’ डिभिजन लिगमा ‘डेब्यु’ गरेको सातदोबाटो फ्रेन्डसको तुलनामा बलियो देखिए पनि गोल गर्न सकेन । सातदोबाटो गतवर्ष ‘बी’ डिभिजन च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा प्रवेश गरेको हो। बल पोसेसनमा राम्रो पकड जमाएको सातदोबाटोले ३३ औं मिनेटमा राम्रो अवसर गुमाएको थियो ।

आकाश बुढामगरको पोष्ट् छेउको प्रहार बाहिरिएको थियो । आकाशले कप्तान मानबहादुर तामाङको फ्रिकिक पासमा प्रहार गर्नुभएको थियो । फ्रेन्ड्सले भने पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेन । दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने अवसर गुमाए । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । फ्रेन्ड्सका गोलरक्षक राहुल यादव ‘म्यान अफ दी म्याच’ हुनु भयो ।

यसअघि लिगको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्नुभयो । गहतराजले कोरोना भाइरसको महामारीपछि विस्तारै खेलकुद गतिविधि बढ्नु सकारात्मक पक्ष भएको बताउनुभयो । ‘लिग फुटबल सुरु हुनुले खेलकुदमा सकारात्मक सन्देश दिएको छ । अन्य खेलहरुपनि विस्तारै सञ्चालन हुनेछ । सरकार अब नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ,’ लिग उद्घाटनको क्रममा मन्त्री गहतराजले भन्नुभयो ।

तीन महिनासम्म चल्ने लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ । लिग अन्तर्गत शनिबार हिमालयन शेर्पा र संकटा क्लब तथा च्यासल युथ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।