मनसुन सुरु भएयता वर्षाका कारण उत्पन्न बाढीपहिरोमा परी हालसम्म देशभर १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ६ जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
मृत्यु हुनेमा पाल्पाका एकजना, सिराहाको एक, सुर्खेतका एक र रोल्पाका एक हुनुहुन्छ । त्यसैगरी बागलुङका एक, रुकुम पश्चिमका एकजना । काभ्रेपलाञ्चोकको एक, मकवानपुरका एकजना रहनुभएको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँका अनुसार असोज ९ गते पाल्पाकी एक महिला वेपत्ता हुनुहुन्छ।
अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा रुख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ। प्राधिकरणले आज दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
बागमती प्रदेश
बागमती प्रदेशका प्रमुख सडक बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानीमा पहिरो खस्नुका साथै चितवनको धारापानीमा सडक भासिएर यातायात ठप्प भएको छ । यसैगरी कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका कारण र मकवानपुरको खहरे खोल्सामा लेदो आई सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशीमा सडक कटान तथा पहिरोका कारण यातायात ठप्प छ । सिन्धुलीको बालुवामा बाढीले बाटो अवरुद्ध बनाएको छ। रसुवागढी, त्रिशुली–मैलुङ र काठमाडौँ जोड्ने सडक खण्डमा पनि बाढीका कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बाग्लुङ क्षेत्रका सडक पहिरोका कारण पूर्ण रूपमा प्रभावित भएको छ । मन्थली–खुर्कोट, चामे–बेशीशहर, जोमसोम–कोरला तथा बेनी–जोमसोम खण्डमा पहिरोले बाटो बन्द छ । डुम्रे–बेशीशहर र बेशीशहर–मनाङ खण्डका विभिन्न ठाउँमा पहिरो जानुका साथै रामबजारमा सडक भासिएर सडक अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसिखोला, बडिगाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेर सवारी आवागमन रोकिएको छ । पर्वतको तमादी खोलामा भने पहिरो सफा गरी सडक एकतर्फी सुचारु गरिएको छ।
लुम्बिनी र कर्णाली प्रदेश
लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोरअन्तर्गत राक्से, सिस्नेभिर र तल्लोखादमा पहिरो खसेर बाटो अवरुद्ध छ । कर्णाली प्रदेशमा कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका र तिलागुफा (तिर्खगाडा खोला) मा पहिरो गएका कारण सवारी साधन ठप्प छ।
राप्ती राजमार्गको सल्यान खारखोला खण्ड र भेरी करिडोरको डोल्पा अन्बेदुला खण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। प्राधिकरणलेले अवरुद्ध राजमार्गमा पहिरो पन्छाउने र सडक सुचारु गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ।

प्रतिकृयाहरु