रसुवा — कैलाश मानसरोवर यात्राका क्रममा रसुवाको नेपाल–चीन सीमाक्षेत्र पुगेका ४७ जना पर्यटक भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन भएका छन्।

काठमाडौँस्थित हिमालयन ग्लेसियरमार्फत कैलाश मानसरोवर यात्रामा निस्किएका उनीहरू मंगलबार साँझ रसुवागढी नाकाको सीमाक्षेत्रमा पुगेका थिए। बुधबार बिहान चीन प्रवेशका लागि अध्यागमन क्षेत्रमा प्रवेश गर्ने क्रममा एक्कासि बाढी आएपछि उनीहरूसँग सम्पर्क विच्छेद भएको जनाइएको छ।

हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेका अनुसार सम्पर्कविहीन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी नागरिक रहेका छन्। विदेशी पर्यटकमध्ये भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिकसमेत रहेको उनले जानकारी दिएका छन्।

पाण्डेका अनुसार यात्रुहरू मंगलबार रसुवाको सीमाक्षेत्रमा पुगेका थिए। बुधबार बिहान चीनतर्फ प्रवेश गर्ने तयारी भइरहेका बेला भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सीमाक्षेत्र प्रभावित बनाएपछि उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको हो।

सम्पर्कविहीन यात्रुहरूको अवस्था यकिन गर्न तथा खोज तथा उद्धारका लागि पहल भइरहेको पाण्डेले बताएका छन्। उनले उद्धार टोलीसहित हेलिकोप्टरमार्फत घटनास्थल पुग्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

यसैबीच, बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएको छ। सीमाक्षेत्रमा बाढीले पुर्‍याएको क्षति तथा यात्रुहरूको वास्तविक अवस्थाबारे थप विवरण आउन बाँकी छ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अघि बढाइएको छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

घटनाको थप विवरण तथा सम्पर्कविहीन यात्रुहरूको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी रहेको छ।