ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएका टोलीले शिक्षा अधिकृत पौडेललाई एक लाख घुससहित आज (बिहीबार) पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जानकारी दिनुभयो ।

सहायक प्रवक्ता थपलियाका अनुसार पौडेललाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उहाँकै कार्य कक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।