सर्लाहीमा शुक्रवार एकैदिन १५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा स्वाब परीक्षण गर्दा भारतीय सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिकाको विभिन्न पाँच वडाका १४ जना र जिल्लाको दक्षिण-पश्चिम क्षेत्रस्थित बाग्मती नदी किनारमा पर्ने रामनगर गाउँपालिका–७, का एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमित सबै ९÷१० दिन अघि भारतका विभिन्न स्थानबाट आएका हुन् ।

भारतबाट लुकिछिपी आएका गोडैता नगरपालिकाका ८० जना र रामनगर गाउँपालिकाका पाँच जना गरी ८६ जनाको वुधवार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो । सुक्रवार सङ्क्रमित थपिएका गोडैता नगरपालिकाको तीनवटा क्वारेन्टाइनमा अहिले १६० जना र रामनगर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा ३० जनालाई राखिएको छ ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले भारतबाट फर्किएकाहरुलाई नगरपालिकाले नारायण हरि माध्यमिक विद्यालय सिसौटिया, वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता र वैधनाथ माध्यमिक विद्यालय मधुवनीमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । यस्तै रामनगर गाउँपालिकाका सङ्क्रमित तपस्वी जगदेव माध्यमिक विद्यालय रामनगरको क्वारेन्टाइनमा रहेका गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माले बताउनुभयो ।

एकैपटक १५ जनामा सङ्क्रमण देखा परेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहितका सुरक्षा अधिकारीहरु अहिले गोडैता पुग्नु भएको छ । सङ्क्रमितलाई उपचारका लागि कहाँको आइसोलेसनमा पठाउन सकिन्छ भनेर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ । उहाँका अनुसार नयाँ सङ्क्रमित सबैलाई भारतबाट आउनासाथ सोझै क्वारेन्टाइनमा लगेर राखिएकाले समुदायमा घुलमिल हुन पाएका छैनन् ।

सर्लाहीमा केही दिनदेखि भारतबाट दैनिक ठूलो सङ्ख्यामा मानिसहरु आइरहेका छन् । भारतमा रेलसेवा सुरु भएपछि विभिन्न स्थानमा अलपत्र परेकाहरु धमाधम आफ्नै देश आउन थालेका हुन् । त्यसरी आइरहेकाहरुलाई क्वारेन्टाईनमा व्यवस्थापन गरी राख्न हम्मेहम्मे परिरहेको छ ।

सर्लाहीमा यसअघि पाँच जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरुमध्ये रामनगर गाउँपालिका र बाग्मती नगरपालिकाका दुई सङ्क्रमितको काठमाण्डौंमा, हरिपूर्वा नगरपालिका र हरिवन नगरपालिकाका दुई सङ्क्रमितको जनकपुर र धनकौल गाउँपालिकाका एक सङ्क्रमितको वीरगञ्जमा उपचार भइरहेको छ।

-गोरखापत्र