नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित नेपाल भारत नाकामा निर्माण गरिएको बहुप्रतिक्षित एकीकृत जाँचचौकी (आइसीपी) को संयुक्त रुपमा विहीबार उद्घाटन गर्नुभएको छ । 

भारतको नयाँ दिल्लीबाट भर्चुअल माध्यमबाट दुबै देशका प्रधानमन्त्रीले आज दिउँसो सो एकीकृत जाँचचौकीको उदघाटन गर्नुभयो । उद्घाटन गरिएलगत्तै दुबै देशतर्फबाट आयात निर्यात सुरु गरेर सो जाँचचौकी सञ्चालनमा आएको हो । 

नेपाल र भारतका सरकारी अधिकारीलगायत विभिन्न नीजि क्षेत्रका अगुवाको उपस्थितिमा सो जाँचचौकीबाट आयात निर्यात शुरु गरिएको छ । नेपालतर्फबाट बाँकेका सांसद धवल शमसेर राणा, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललगायत सुरक्षा निकायका प्रमुखले दुबै देशको झन्डा देखाएर जुडिबुटी बोकेको ट्रकलाई भारततर्फ रवाना गर्नुभयो । 

सोही प्रकारले भारतको तर्फबाट भारत बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) मोनिका रानी, प्रहरी प्रमुख एसपी प्रशान्त वर्मालगायतले दुबै देशको झन्डा देखाएर पेट्रोलियम र एलपी ग्याँस बोकेको ट्याङ्कर तथा प्लाइवुड बोकेको ट्रकलाई नेपालतर्फ रवाना गर्नुभयो । 

भारत सरकारको सहयोगमा सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर अहिले सम्पन्न भएको सो जाँच चौकीको निर्माण १ अर्ब ४७ करोड भारतीय रुपियाँको लागतमा सम्पन्न भएको राजदीप बिल्डकन निर्माण कम्पनीका कार्यकारी निर्देशक अभिजित डाढीवालले बताउनुभयो । 

उहाँका अनुसार नेपाल भारत सीमानामा ८८ विघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृहको पनि निर्माण गरिएको छ ।