काठमाडौं, असार ७ गते । प्रहरीले लाख डलर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ घर भइ हाल काठमाडौंको नागार्जुन–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठमाथि डलर ठगी गरी फरार रहेको सूचनाअनुसार प्रहरीले खोज तलास व्यापक बनाएको थियो । सोही क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले असार ३ गते काठमाडौं–१४ कलंकीस्थित सडकखण्डबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

गत जेठ १७ गते कलंकीस्थित सीता पेट्रोल पम्प नजिक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा–४ घर भएका हाल ललितपुर–१८ नख्खु बस्ने ६२ वर्षीय व्यक्तिलाई आफ्नी आमा गम्भीर बिरामी भएर  अस्पताल भर्ना गरेकाले आमाको उपचारको लागि आफूलाई पैसाको अभाव रहेकाले आफूसँग भएको अमेरिकन डलरका नोट साटी दिन श्रेष्ठले आग्रह गर्नुभएको थियो ।

श्रेष्ठले उक्त नोट साट्न आएका बेला पिडितबाट आठ लाख लिएर सो को साटो कपडा तथा प्लाष्टीकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्राहरु दिएर फरार रहनुभएको थियो । उहाँमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिई प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको छ । 

श्रेष्ठले अन्य व्यक्तिलाईसमेत यस्तो प्रकारको ठगी गरी पीडित बनाएको हुन सक्ने प्रहरीको आंकलन भएकाले त्यस्तो भएमा प्रहरी वृत्त कालीमाटीमा सम्पर्क गर्न हुन सबैमा प्रहरीले अनुरोध गरेको छ ।